• १२ वैशाख २०८३, शनिबार

तनहुँ दुर्घटना: मृतकको पहिचान, ३२ घाइतेको नाम सार्वजनिक

blog

दुर्घटना ग्रस्त बस । तस्बिरः गोरखापत्र

अमरराज नहर्की
तनहुँ, वैशाख १२ गते । 
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा ज्यान गुमाउने दुई महिलामध्ये एक जनाको पहिचान खुलेको छ । दुर्घटना लगत्तै मृतक र घाइतेको विस्तृत विवरण नखुले पनि प्रहरीले साँझसम्म सबैको पहिचान सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्ष श्रवणकुमार बिकका अनुसार मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–१ बस्ने ६५ वर्षीया जसमाया सुनार रहनुभएको छ भने अर्की अन्दाजी ३० वर्षीया महिलाको अझै पहिचान खुल्न सकेको छैन ।

पोखराबाट भैरहवा जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका ३४ जनामध्ये २९ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने तीन जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । घाइते हुनेहरूमा बस चालक म्याग्दे–२ का ३५ वर्षीय तेज कुमार शाही, कास्की पोखरा–१४ का ६४ वर्षीय भरत कुमार श्रेष्ठ, गोरखा बारपाक सुलिकोट–७ का ४२ वर्षीय खडक बहादुर भट्ट, रुपन्देहीकी १५ वर्षीया कुसुम गुरुङ, पाल्पा निस्दी–४ की २२ वर्षीया दिल माया बयम्बु र तनहुँ शुक्लागण्डकी–७ की २५ वर्षीया सुस्मिता थापा राना हुनुहुन्छ ।

त्यस्तै पूर्वी नवलपरासीकी ३७ वर्षीया सबिता थापा, चितवन भरतपुरका ६० वर्षीया पार्वती अधिकारी र १२ वर्षीय अमिस कार्की, नवलपरासीकी ५६ वर्षीया दुर्गा देवी थापा र ९ वर्षीया अनिसा कार्की, तनहुँ म्याग्दे–२ की ६१ वर्षीया मिरा कुमारी श्रेष्ठ, बाग्लुङ काठेखोला–८ की ६४ वर्षीया द्रोपती रोका पुन, कास्की पोखरा–३३ का २४ वर्षीय सुदिप कुँवर, व्यास नगरपालिकाकी ३६ वर्षीया अस्मिता सुनार र १३ वर्षीया प्रेरणा सुनार पनि दुर्घटनामा घाइते हुनुभएको छ ।

प्रहरीका अनुसार घाइते हुने अन्यमा व्यास–५ का ५८ वर्षीय तारा बहादुर नेपाली, नवलपरासी गैडाकोट–१३ का ५१ वर्षीय तुलाराम पौडेल, रुपन्देहीकी ६४ वर्षीया प्रेम कुमारी गुरुङ र ५५ वर्षीया गङ्गा देवी थापा, म्याग्दे–१ की ४६ वर्षीया शान्ती सुनार, ४८ वर्षीय रामबहादुर सुनार र ६२ वर्षीय किसान सुनार तथा रुपन्देहीकी ४५ वर्षीया रिमा थापा र ५० वर्षीया बिष्णु गुरुङ हुनुहुन्छ । साथै चितवन भरतपुर–८ का १७ वर्षीय सुमन शाही, ३३ वर्षीया भट्टी माया गुरुङ, ३५ वर्षीय रामरुप मंडल र २६ वर्षीय भुमि कुमार श्रेष्ठ पनि घाइते हुनुभएको छ ।

व्यास–५ का ३० वर्षीय सुक बहादुर भुजेल, दैलेखका ३७ वर्षीय हर्क ब. शाही र व्यास–३ का ३६ वर्षीय देव गजमेर भने सामान्य उपचारपछि डिस्चार्ज हुनुभएको छ । घाइतेहरूको पोखरास्थित अन्नपूर्ण र मणिपाल अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बसले मोडमा सन्तुलन गुमाउँदा दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौचताराले जनाएको छ ।