• १२ वैशाख २०८३, शनिबार

कालीजंग गणबाट ९७ जना सैनिक दीक्षित

blog

तालिम समापनपछि सामूहिक तस्बिर लिनुहुँदै पृतनापति उपरथी भोलानाथ थापा, सहायकरथीसहित सैन्य जवानहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, वैशाख १२ गते ।
नेपाली सेनाको कालीजंग गण घोडाबाँधेमा सञ्चालित सैन्य आधार तालिमबाट ९७ जना सैनिक दीक्षित भएका छन् । नौ महिने सैन्य आधारभूत तालिमपछि उनीहरु दीक्षित भएका हुन् ।

शुक्रबार आयोजित कार्यक्रममा ‘अन्तिम दलेल कवाज’ प्रदर्शनसँगै उत्कृष्ट सैनिक जवानलाई पुरस्कृत गर्दै तालिम समापन गरिएको कालीजंग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीले जानकारी दिनुभयो ।

नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी भोलानाथ थापाले तालिममा सहभागी सैनिक जवानद्वारा प्रस्तुत ‘अन्तिम दलेल कवाज’को अवलोकन गर्नुका साथै उत्कृष्ट सैनिक जवानलाई पुरस्कृत गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै उपरथी थापाले राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो भएमात्र देश बलियो हुने बताउनुभयो । दक्ष, तालिम प्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक सेनाको मेरुदण्ड भएको थापाको भनाई थियो ।

‘‘राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि सैन्य जवानहरु कटिबद्ध भएर अघि बढ्नुपर्छ’’ उपरथी थापाले भन्नुभयो । उपरथी थापाले तालिम प्राप्त गरी सेना प्रवेश गरेका सैन्य जवानहरूलाई सेनाको उच्च छविलाई कायम राख्दै राष्ट्र, राष्ट्रियता, नेपाली जनता र नेपाली सेनाप्रति समर्पित भएर काम गर्न निर्देशन समेत दिनुभएको छ ।

तालिममा सहभागी सैनिक जवानमध्ये विभिन्न विद्यामा उत्कृष्ट भएका सैनिक जवानलाई उपरथी थापाले पुरस्कार वितरण गर्नुभएको थियो ।

उपरथी थापाले तालिममा सर्वोकृष्ट हुने सैनिक जवान सुदेश मगरलाई ‘श्रेष्ठताको प्रतीक’ स्वरूप खुकुरी प्रदान गर्नुभएको थियो । यस्तै, फायरिङ विधामा उत्कृष्ट हुने राजन विष्ट, ड्रिल विधामा उत्कृष्ट हुने सुनिल लिम्बु, १२ किलोमिटर दौडमा उत्कृष्ट हुने पवन लंवा, ५ किलोमिटर दौडमा उत्कृष्ट हुने दिपेन रसाइली, बाधापार विधामा उत्कृष्ट प्रदर्शन गर्नुहुने सरोज राईलाई समेत पुरस्कृत गरिएको छ ।

तालिम समापन समारोहमा श्री नं. २३ बाहिनी अड्डा बागलुङका सहायक रथी विजय केसी, जिल्लास्थित स्थानीय सरकारका प्रमुख, सुरक्षा निकायका प्रमुख, नवनियुक्त सिपाहीका परिवारजन र पत्रकारहरूको समेत उपस्थिति थियो ।