• ११ वैशाख २०८३, शुक्रबार

ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालन

blog

निर्माण सम्पन्न भएको ठाकुरबाबा नगरअस्पताल ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया) बैशाख ११ गते । बर्दियाको ठाकुरबाबा नगरपालिकामा १५ शैयाको नगर अस्पताल सञ्चालनमा आएको छ ।

नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले एक कार्यक्रमबिच नगरअस्पतालको उद्‌घाटन गर्नुभएको छ । १२ करोडको ८४ लाखको लगानीमा ठाकुरबाबा नगरपालिका वडा नं ३ नेउलापुरमा विशेषज्ञ सेवा दिन सकिने गरी १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ ।

सरकारले केही वर्ष अगाडि हरेक स्थानीय तहमा १५ शैया सम्मको अस्पताल निर्माण गर्ने योजना ल्याएको थियो ।सोही अनुरूप २०७८ जेठ देखि नगरअस्पतालको निर्माण सुरु गरिएको थियो । दुई तले अस्पतालको भवन तीन ओटा ब्लक रहेका रहेका छन्।

भवन सँग सँगै पार्किङ, क्यान्टिन समेत निर्माण भएको छ ।अस्पतालबाट २४ सै घण्टा आकस्मिक कक्ष, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया कक्ष, गुणस्तरीय ल्याव, भेन्टिलेटर सहित सर्प दंशको उपचार सेवा, निःशुल्क शव वाहन तथा शव चिस्यान सेवा, रक्तसञ्चार सेवा, आँखा उपचार सेवा समेत सञ्चालनमा ल्याइने भएको छ ।

भवनको उद्‌घाटन गर्दै नगरप्रमुख लम्सालले पुरानो भवन देखि सेवा दिँदा अस्पताल र सेवा ग्राहीलाई समस्या भएको हुनाले नयाँ भवन देखि नयाँ तरिकाले सेवा दिइने बताउनुभयो । उहाँले विभिन्न स्थानमा छरिएर रहेका वर्थिङ्ग सेन्टरलाई एम्बुलेन्स सेवा निःशुल्क गरि नगर अस्पतालमा एकीकृत गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले अस्पताललाई व्यवस्थीत र स्तरीय बनाउनका लागि नगरपालिका सदैव लागिरहेको बताउनुभयो ।

नगरअस्पतालको आम्दानी र खर्च नगरपालिकाकै मातहतमा रहँदै आएको बताउँदै सुविधा सम्पन्न अस्पतालबाट अब नगरवासीले सेवा पाउने उहाँले बताउनुभयो ।

ठाकुरबाबा नगरअस्पताल विकास समितिका अध्यक्ष चिरञ्जीवी योगीले अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीलाई समेत सेवा दिइरहेको बताउनुभयो । हाल अस्पतालमा तीन जना चिकित्सकले सेवा दिइरहेको बताउँदै निकट भविष्यमा एमडिजिपि चिकित्सक सहितको सुविधा दिने योजना रहेको बताउनुभयो ।

प्रत्येक हप्ताको शनिबार विशेषज्ञ सेवा दिने योजना रहेको छ । हाल अस्पतालमा ४६ जना जनशक्ति छन् । हाल अस्पतालमा ठाकुरबाबा नगर पालिका लगायत विभिन्न छिमेकी नगरपालिकाका दैनिक दुई सय पचास जना बिरामीले सेवा लिइरहेका छन् ।

अस्पताल व्यवस्थापनका लागि केही दिन लाग्ने भएको छ । भने अस्पताल आवत जावत गर्नका लागि निःशुल्क आवत जावत गर्ने व्यवस्था मिलाइएको छ ।