कोकिला ढकाल
इलाम, वैशाख ११ गते । इलाममा निर्माण हुन लागेको इलाम अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) सेवाको नयाँ भवनको आज शिलान्यास गरिएको छ ।
नेपालका लागि भारतीय दुताबासकी कन्सुलर गीताञ्जली ब्रेन्डन र इलाम नगरपालिका प्रमुख केदार थापाले संयुक्त रुपमा आकस्मिक कक्षको शिलान्यास गर्नुभयो । अस्पतालका लागि दुताबासको १९ करोड ७५ लाख ४४ हजार ४२० रुपियाँ रकम सम्झौता रहेको जनाइएको छ ।
यसमध्ये १४ करोड १५ लाख ४४ हजार ४२० भवन निर्माणमा र स्वास्थ्य उपकरण र सामग्री खरिदमा ५ करोड ६० लाख खर्च गर्ने सम्झौता रहेको इलाम नगरपालिका प्रमुख केदार थापाले बताउनुुभयो ।
भवन निर्माणका लागि ११ करोड ९६ लाख ५ हजार ६ सय ५७ रुपियाँमा ठेक्का लागिसकेको छ । अर्थ डिजाइनर्स एन्ड डेभलपर्स प्रालि हेटांैडा–६ मकवानपुरले ठेक्का पारेरेर सुरु भएको भवनको काम आगामी २०८४ जेठ २ गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको जनाइएको छ ।
शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुताबासकी कन्सुुलर ब्रेन्डनले नेपाल–भारत विकास साझेदारी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) कार्यक्रमअन्तर्गत इलाम अस्पतालको आकस्मिक कक्ष भवनको काम थालिएको बताउनुुभयो ।
बे्रन्डनले नेपाल सरकारको प्राथमिकतामा रहेका शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, जलविद्युत, ढल निकास, ग्रामीण विद्युतीकरण, तटबन्ध लगायतका क्षेत्रमा तल्लो तहमा परिचालित योजनामा दुताबासले काम गरिरहेको जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, ‘यो परियोजना नेपाल–भारतको सुदृढ विकास साझेदारीको परियोजना हो । नेपालमा सन् २००३ बाट सुरु गरिएको यो परियोजनामा अहिले पनि काम भइरहेको छ ।’
बे्रन्डनले इलाममा दुताबासको सहयोगमा विभिन्न नौं परियोजना, कोशी प्रदेशमा ९९ परियोजना र देशभरि ५९८ परियोजना सञ्चालनमा रहेको जानकारी दिनुुभयो । कार्यक्रममा इलाम नगरपालिकाका पूर्व प्रमुख महेश बस्नेतले भारतीय राजदुुताबासले इलामका नागरिकका लागि विगतदेखि नै महत्वपूर्ण आर्थिक सहयोग र विकासको कार्य गरिरहेको बताउनुुभयो ।
‘इलाम नगरपालिकासहित जिल्ला स्थित राजनीतिक दल र सरोकारवाला संघसंस्था निकायहरुले मेडिकल कलेजका लागि पूर्व तयारीको काम धेरै ग¥यौं, आवश्यक एक हजार रोपनी जग्गा व्यवस्थापन देखिका कामहरु गरिसकिएको छ । त्यसको फाइल अहिले शिक्षा मन्त्रालयमा थन्किएको छ’ बस्नेतले भन्नुुभयो, ‘अब इलामको आवश्यकता मेडिकल कलेजको छ, त्यसका लागि हामी सबै लाग्न जरुरी छ ।’
अब निर्माण हुुने अस्पतालको तीन तले पक्की भवनमा आकस्मिक सेवा साथै आइसियुु, अप्रेसन थ्रिएटर, ओपीडीसहित अन्य वार्डहरु सञ्चालन हुने इलाम नगरपालिकाका इन्जिनियर क्षितिज दाहालले जानकारी दिनुुभयो ।