• ११ वैशाख २०८३, शुक्रबार

एनभिएल लिग : एपिएफका महिला र पुरुष दुवै टोली पराजित

blog

काठमाडौँ, वैशाख ११ गते । दशौँ प्रधानमन्त्री कप एनभिएल भलिबल लिगमा विभागीय टोली एपीएफको महिला र पुरुष दुवै टोलीले हार बेहोरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको पुरुषतर्फको खेलमा एपीएफ रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरसँग ३–० को सोझो सेटमा पराजित भयो । तीन जना पाकिस्तानी खेलाडीको साथ पाएको रुकुम पश्चिमले एपीएफलाई २५–१४, २५–२१ र २५–१५ ले सहजै हरायो । रुकुम पश्चिमको टोलीमा गण्डकी प्रदेशका खेलाडीहरू समेत सहभागी छन् ।

यस्तै, महिलातर्फ एपीएफ एभरेस्ट भलिबल क्लबसँग ३–१ को सेटमा पराजित भयो । तीन जना भारतीय खेलाडी सम्मिलित एभरेस्टले एपीएफलाई २५–२०, १६–२५, २५–१७ र २५–१६ ले पाखा लगायो । भारतीय खेलाडी केपी अनुश्रीको उत्कृष्ट प्रदर्शनप्रेरित एभरेस्ट एक सेटमा बाहेक एपीएफमाथि पूर्ण रूपमा हाबी देखियो । एपीएफको यो प्रतियोगितामा पहिलो हार हो । यसअघि बिहीबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको थियो ।

महिलातर्फकै अर्को खेलमा न्यु डायमन्डले सुदूरपश्चिम प्रदेशमाथि ३–० को एकपक्षीय जित निकाल्यो । न्यु डायमन्डले सुदूरपश्चिमलाई २५–११, २५–३ र २५–१ को निकै कम स्कोरमा रोक्यो ।

पुरुषतर्फको अर्को प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्‍यो । पुलिसले कोशीमाथि २५–२३, २२–२५, २५–२० र २५–२२ को जित दर्ता गरेको हो ।