राममणि दाहाल
मकवानपुर, वैशाख ११ गते । साहित्य सङ्गम मकवानपुरको आयोजनामा हेटौँडामा शुक्रबारबाट दुई दिने सङ्गम साहित्य उत्सव २०८३ सुरु भएको छ ।
उत्सवका क्रममा स्रष्टा सम्मान, बहस एवं रचना वाचनको कार्यक्रम रहेको छ ।
उत्सवको पहिलो दिन शुक्रबार भैरव अर्याल स्मृति सम्मान प्रोलास सिन्धुलीयलाई समर्पण गरिएको छ ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलको अध्यक्षता तथा साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष आरसी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिन्धुलीयलाई सम्मान गरिएको हो। डा. दीपक अर्यालले स्थापना गर्नुभएको उक्त सम्मानको राशि २१ हजार १११ रुपियाँ रहेको छ ।
उत्सवका अवसरमा मकवानपुरमा पहिलो पटक बहुभाषिक कवि गोष्ठी हुने छ ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले १७ कविका १७ भाषाका कविता वाचन गर्ने सङ्गम साहित्य उत्सव अन्तर्गत जानकारी दिनुभयो ।
यस्तै मकवानपुर श्री सम्मान श्यामकुमार बानियाँलाई, भेषनाथ अधिकारी स्मृति सम्मान नरेन्द्र परासरलाई र पारिजात स्मृति सम्मान स्नेह सायमीलाई शनिबार प्रदान गरिने भएको छ । उक्त तीन वटै सम्मानको राशि समान १५ हजार ५५५ रुपियाँ रहेको छ ।
विनोद सुनीता सुवेदी साहित्य सम्मानबाट श्याम श्रेष्ठ, मुक्ति तारा साहित्य सम्मानबाट दिनेश शर्मा र मङ्गलादेवी श्रेष्ठ स्मृति नारी सम्मानबाट कल्पना पौडेल जिज्ञासुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
३६६ औँ नियमति साहित्य सन्ध्याको समेत अवसरमा हुने उत्सवमा मुक्तक उत्सव, मनका कुरा जीवनका कुरा र आजको आख्यान बहस हुने छ ।
साथै कृति प्रकाशन सम्मान, गजल महफिल र अग्रजका रचना वाचन कार्यक्रम उत्सवका क्रममा हुने अध्यक्ष बर्तौलाले बताउनुभयो ।