• ११ वैशाख २०८३, शुक्रबार

तनहुँ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुग्यो, ३१ यात्रु घाइते

blog

दुर्घटनाग्रस्त बसको दृश्य । तस्बिर: गोरखापत्र

अमरराज नहर्की

तनहुँ, वैशाख ११ गते । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस चालकले नियन्त्रण गुमाएर दुर्घटना हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार दुर्घटनामा गम्भीर चोट लागेका यात्रुहरूमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये २७ जनालाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल पठाइएको छ । ३ जनाको स्थानीय जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने एक जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर, १४ जनाको मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरूको विस्तृत विवरण सङ्कलन भइरहेको छ ।

तीव्र गतिका कारण बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटना लगत्तै प्रहरी र स्थानीयको सक्रियतामा घाइतेहरूको उद्धार गरिएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।