• ११ वैशाख २०८३, शुक्रबार

‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

blog

रेखीराम राना

तानसेन, वैशाख ११ गते । प्रहरी हुँ भनेर रकम ठगी गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी जिल्ला रुरु गाउँपालिका–२ ग्वादीका २७ वर्षीय रिजन भन्ने राजेश विश्वकर्मा रहेका छन् । 

विश्वकर्माले प्रहरीको डिएसपी हुँ भनेर एक लाख ७० हजार रुपियाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । फेसबुकमार्फत चिनजान भएका पाल्पाकी एक महिलालाई विश्वकर्माले ठगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

फेसबुकमा चिनजान भएपछि आफ्नो श्रीमान् विदेश जाने क्रममा फसेको भन्ने कुरा गरेकी महिलाले गरेपछि नक्कली प्रहरीले सघाउने वचन दिएका थिए । विश्वकर्माले म प्रहरीको डिएसपी हुँ, अहिले सिभिल पोशाकमा पाल्पामा खटिएको छु, मसँग भर्ती भएका साथीहरू काठमाडौँमा छन्, उनीहरूसँग कुरा गरी पैसा निकालिदिन्छु भनेको पीडित महिलाले बताउनुभएको छ । 

ती महिलाका अनुसार कुराकानी गर्ने क्रममा विश्वकर्माले आफ्नो छोरा विदेशमा जान लागेको र एक लाख ७० हजार रकम नपुगेको भनेपछि महिलाले विश्वकर्मालाई रकम दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

रकम दिएपछि विश्वकर्मा सम्पर्कबिहीन बनेको पीडित महिलाको भनाइ छ । पीडित महिलाको उजुरीका आधारमा विश्वकर्मालाई तानसेन–१५ अर्गलीबाट पक्राउ गरिएको पाल्पाका प्रहरी नायव उपरीक्षक चौधरीले बताउनुभयो ।