• ११ वैशाख २०८३, शुक्रबार

सुन्दर सपना साँचेर बाहिरिएका उमेश, हातखुट्टा गुमाएर फर्किए

blog

विदेश जानुअघिका उमेश खाती र अहिले दुवै हातखुट्टा काटेर फर्किएपछि १६ महिने छोरी र श्रीमतीका साथमा उमेश । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का

बिर्तामोड, वैशाख ११ गते । झापाको कनकाई नगरपालिका–५ बेनुबाजाका २६ वर्षीय युवा उमेश खातीको एउटै सपना थियो– चुहिन लागेको घरको छानो फेर्ने र एउटा सानो पक्की घर बनाएर वृद्ध बाबाआमा र सन्तानलाई खुसी राख्ने । यही सपनाका साथ उहाँ २०८१ साल मंसिर ११ गते वैदेशिक रोजगारीका लागि दुबईको अबुधाबी उड्नु भएकाे थियाे ।

उहाँ विदेशिँदा श्रीमती तीर्थकुमारी गर्भवती हुनुहुन्थाे । थपिएको पारिवारिक जिम्मेवारी र आर्थिक अभावका बीच नयाँ सपना बोकेर उहाँ परदेश लाग्नु भयाे । उहाँ अबुधाबीको 'आमफोस एन्ड क्लब' होटलमा क्लिनरका रूपमा काम गर्न जानु भएकाे हाे ।

खुसीको सट्टा बज्रपात

विदेश पुगेको ११ दिनमा उमेशले छोरी जन्मिएको खुसीको खबर पाउनु भयाे । दिनहरू सामान्य रूपमा चल्दै थिए । तर, करिब एक महिनाअघि उहाँलाई अचानक उच्च ज्वरो आयो । एकदिन शौचालय जाने क्रममा उहाँ अचानक ढलेपछि क्याम्प बोसले उहाँलाई अस्पताल पुर्‍याए ।

तेह्र दिनपछि होस खुल्दा उहाँले आफूलाई घातक रोग लागेको थाहा पाउनुभयाे । चिकित्सकहरूका अनुसार उहाँलाई 'मेनिन्गोकोकल' (रगतमा संक्रमण फैलिने रोग) भएको थियो । संक्रमणका कारण उहाँका दुवै हात र दुवै खुट्टा कुहिन थाले । गम्भीर स्वास्थ्य अवस्थाका बीच उहाँलाई नेपाल फर्काइयो ।

घर न घाटको अवस्था

नेपाल फर्किएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा गत शनिबार उहाँको दुवै हात र खुट्टा काटिएको छ । हाल उहाँ हातखुट्टा गुमाएर झापास्थित घर आइपुग्नु भएकाे छ । बिहीबार साँझ मात्र घर आइपुगेका उमेशलाई हेर्न आउनेहरूको गाउँमा घुइँचो लागेको छ ।

उहाँको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले आर्थिक सहयोग जुटाइरहेका छन् । उमेशका बुबा टेकबहादुर खातीका अनुसार छोराको उपचार खर्च जुटाउन घरमा रहेका भैँसी, पाडा र बाच्छासमेत बिक्री गर्नुपरेको छ ।

भताभुङ्ग सपना

शारीरिक घाउ बिस्तारै निको होला, तर २६ वर्षकै उमेरमा परिवारको जिम्मेवारी बहन गर्न नपाएको पीडाले उमेशलाई पिरोलेको छ । "हातखुट्टा काट्दा लागेको ऋणको बोझबाट कहिले मुक्ति पाइएला ?" उहाँ गहभरि आँसु पार्दै प्रश्न गर्नुहुन्छ।

बुढेसकालको सहारा ठानिएको छोरा आफैँ असहाय बनेपछि वृद्ध बुबा टेकबहादुर थप चिन्तित हुनुहुन्छ । उमेशको यो अवस्थासँगै एउटा सिङ्गो परिवारको सुन्दर सपना भताभुङ्ग भएको छ । १६ महिनाकी छोरी र युवा श्रीमतीको भविष्य अब कुन दिशामा जाने हो भन्ने चिन्ताले कनकाई–५ को यो परिवार शोकमा डुबेको छ ।