• ११ वैशाख २०८३, शुक्रबार

डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

blog

बेइजिङ, वैशाख ११ गते । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा चीन-अमेरिका प्रतिस्पर्धा तीव्र भइरहेका बेला चिनियाँ स्टार्टअप डीपसिकले बहुप्रतीक्षित नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । कम लागतमै उच्च क्षमताको मोडेल विकास गरेर यसअघि नै विश्वको ध्यान खिचेको कम्पनीले यस पटक अझ उन्नत संस्करण ल्याउँदै प्रविधि दौडलाई नयाँ मोड दिएको छ ।

डीपसिकले सार्वजनिक गरेको ‘डीपसिक-भी ४’ मोडेलले अत्यन्त लामो सन्दर्भ क्षमतासहित काम गर्ने सुविधा प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार यसले करिब दस लाख शब्दसम्मको इनपुट सम्हाल्न सक्छ, जसले जटिल कार्यमा यसको उपयोगिता उल्लेखनीय रूपमा बढाउने छ । सामाजिक सञ्जाल वीच्याटमार्फत जारी विज्ञप्तिमा यसलाई ‘लागत-प्रभावकारी’ र प्रतिस्पर्धी मोडेलको स्तरमा पुग्ने क्षमतायुक्त रूपमा प्रस्तुत गरिएको छ ।

विश्वका ठूला प्रविधि कम्पनी कृत्रिम बौद्धिकतामा ठूलो लगानी गर्दै कार्यबल पुनः संरचना गरिरहेको बेला यो घोषणा आएको हो । मेटाले उत्पादकत्व बढाउने उद्देश्यले आफ्ना कर्मचारीको उल्लेख्य हिस्सा कटौती गर्ने योजना अघि बढाएको छ भने माइक्रोसफ्टले पनि आफ्नो संरचना सानो बनाउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

डीपसिक-भी ४ लाई दुई संस्करणमा ल्याइएको छ-भी ४-प्रो र भी ४-फ्ल्यास । भी ४-प्रोमा करिब १६ खर्ब प्यारामिटर समावेश छन् भने भी४-फ्ल्यासमा दुई खर्ब ८४ अर्ब प्यारामिटर छन् । फ्ल्यास संस्करणलाई तुलनात्मक रूपमा सस्तो र बढी दक्ष विकल्पका रूपमा प्रस्तुत गरिएको छ । यी प्यारामिटरले मोडेलको निर्णय क्षमता र विश्लेषण गर्ने दक्षतालाई परिष्कृत बनाउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार नयाँ मोडेलले ‘एजेन्ट क्षमता, विश्व ज्ञान र तर्क प्रदर्शन’ का क्षेत्रमा खुला स्रोत तथा घरेलु दुवै खालका मोडेललाई उछिनेको छ । साथै, क्लाउड कोड, ओपनक्ला, ओपनकोड र कोडबड्डी जस्ता लोकप्रिय एआई उपकरणसँग पनि यसलाई अनुकूल बनाइएको जनाइएको छ । कम्पनीले यसको प्रारम्भिक ‘ओपन सोर्स’ संस्करण प्रयोगकर्ताका लागि उपलब्ध गराइसकेको छ ।

डीपसिकले गत वर्ष जनवरीमा आर १ तर्क मोडेलमा आधारित च्याटबोट सार्वजनिक गरेपछि विश्व बजारमा ठूलो हलचल मच्चिएको थियो । ‘डीपसिक झट्का’ भनेर चिनिएको उक्त घटनाले एआई क्षेत्रका सेयर बजारमा प्रभाव पार्नुका साथै प्रविधि रणनीतिमा पुनर्विचार गर्न बाध्य बनाएको थियो । उक्त च्याटबोटले च्याटजीपीटी जस्ता अमेरिकी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाए पनि यसको विकासमा कम कम्प्युटिङ शक्ति प्रयोग भएको कम्पनीको दाबी थियो ।

यद्यपि, यसको तीव्र लोकप्रियतासँगै डेटा गोपनीयता र सेन्सरसिप सम्बन्धी चिन्ता पनि उठेका थिए । विशेष गरी सन् १९८९ को तियानमेन घटना जस्ता संवेदनशील विषयमा प्रश्न गर्दा च्याटबोटले जवाफ दिन अस्वीकार गर्ने गरेको आरोप लागेको थियो ।

चीनभित्र भने डीपसिकका एआई उपकरण सरकारी निकाय, स्वास्थ्य संस्था, वित्तीय क्षेत्र तथा विभिन्न व्यवसायले व्यापकरूपमा अपनाएका छन् । यसको प्रमुख कारण कम्पनीले आफ्ना प्रणाली खुला स्रोतका रूपमा उपलब्ध गराउने नीति अपनाउनु रहेको विश्लेषण गरिएको छ, जुन पश्चिमी कम्पनीको स्वामित्वमा आधारित मोडेलभन्दा फरक दृष्टिकोण हो ।

गत महिना चिनियाँ प्रधानमन्त्री ली किआङले समेत चिनियाँ एआई मोडेलले विश्वव्यापी खुला स्रोत इकोसिस्टमको नेतृत्व गरिरहेको दाबी गर्नुभएको थियो । यसबिच, एआई प्रविधिमा चीन र अमेरिकाबिचको प्रतिस्पर्धा थप चर्किदै गएको छ । यसै सन्दर्भमा ह्वाइट हाउसले चिनियाँ संस्थाले अमेरिकी एआई प्रविधि हासिल गर्न प्रयास गरिरहेको आरोप लगाएको छ । अमेरिकी विज्ञान तथा प्रविधि प्रमुख माइकल क्रेटसिओसले विदेशी, विशेष गरी चिनियाँ निकायले औद्योगिक स्तरमा एआई प्रविधि चोरी गर्ने अभियान सञ्चालन गरेको दाबी गर्दै अमेरिकी नवप्रवर्तनको सुरक्षा गर्न आवश्यक कदम चालिने बताउनुभयो । रासस/एएफपी