साहारा लिम्बू
फुङलिङ, वैशाख १० गते । मेरिङदेन गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८३ देखि गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने भएको छ ।
गाउँपालिकाको १९ औँ हिउँदे अधिवेशनबाट संशोधित बजेट कार्यक्रममार्फत स्वीकृत भएको उक्त योजना विद्यालयस्तरमा व्यवहारिक शिक्षा, वातावरण संरक्षण तथा पोषणमैत्री शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो ।
गाउँपालिकाका अध्यक्ष युकहाङ विर हाङ्गाम (डम्बर) का अनुसार आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम अन्तर्गत ल्याइएको यस योजनालाई प्रधानाध्यापकहरूको २०८२ चैत २२ गते बसेको बैठकको निर्णयका आधारमा कार्यान्वयनमा लैजान लागिएको हो । शैक्षिक सत्र सुरु भएलगत्तै प्रत्येक विद्यालयले आफ्नै परिसरभित्र बगैँचा निर्माण गरी सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
उत्कृष्ट बगैँचा निर्माण गर्ने विद्यालयलाई आगामी असारको दोस्रो हप्ताभित्र पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले उत्कृष्ट विद्यालयलाई नगदसहित सम्मान गर्ने व्यवस्था गरेको छ।
जसअनुसार प्रथम हुने विद्यालयलाई ५० हजार रुपियाँ, द्वितीय हुने विद्यालयलाई ३० हजार रुपियाँ तथा तृतीय हुने विद्यालयलाई २० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । गाउँपालिकाले यस कार्यक्रमबाट विद्यार्थीमा कृषि, हरियाली र वातावरणप्रतिको रुचि बढ्नुका साथै विद्यालय परिसरलाई आकर्षक र शिक्षामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।