सन्तोष दहित
दाङ, वैशाख १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका गौरवका आयोजनाहरूको सफल कार्यान्वयनमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले महत्वपूर्ण योगदान पुर्याएकाे बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरणद्वारा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री आचार्यले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका ९देउखुरी० मा प्रशासनिक केन्द्र निर्माण र अन्य ठूला पूर्वाधारका कामहरू समयमै सम्पन्न गर्न प्राधिकरणले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्नुभयो । सो अवसरमा उहाँले प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ई. छविराज पोखरेललाई प्रशंसा–पत्रद्वारा सम्मानित समेत गर्नुभयो । चार वर्षे कार्यकाल सकिएपछी पोखरेलको बिदाई गरिएको हो ।
पोखरेलले २०७८ चैत २५ देखि २०८२ चैत २४ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा प्राधिकरणमा रहेर कार्य गर्नुभएको थियो । उहाँको कार्यकालमा प्रदेशको पूर्वाधार विकास र विशेषगरी प्रशासनिक केन्द्र (मन्त्रालयका भवनहरू) निर्माणमा पुर्याएकाे योगदानको प्रदेश सरकारले उच्च मूल्याङ्कन गरेको छ ।
‘प्राधिकरणले आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दा प्रदेशको भौतिक विकासले गति लिएको छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘विशेष गरी गौरवका आयोजना र प्रशासनिक संरचना निर्माणमा तत्कालीन नेतृत्वको भूमिका सराहनीय छ ।’ कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रमुख सचिव कृष्णप्रसाद काप्रीलगायत प्राधिकरणका कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।