• १० वैशाख २०८३, बिहिबार

दस घण्टे स्विप अप्रेसनमा १२२ जनालाई कारबाही

blog

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की, वैशाख १० गते । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको १० घण्टे ‘स्विप अप्रेसन’ मा १२२ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । लागु औषध कारोबार तथा सेवन, समाजमा अशान्ति फैलाउने, टोले गुण्डागर्दी र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उक्त अप्रेसन सञ्चालन गरिएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार वैशाख ९ गते राति ९ बजेदेखि  १० गते बिहान ६ बजेसम्म पोखरा महानगरपालिकाका विभिन्न वडा तथा एरियामा एकैसाथ अप्रेसन गरिएको थियो । अप्रेशनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका गरी एक सय जना प्रहरी परिचालन गरिएको थियो ।

अप्रेशनका क्रममा लागु औषध बिक्री–वितरण तथा सेवनमा संलग्न, शङ्कास्पद रूपमा हिँडडुल गर्ने तथा मापसे गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले पेखरा–६, (लेकसाइड, ड्यामसाइड, गैराको चौतारा) बाट ३५ जना पक्राउ परेका छन् । त्यसैगरी वडा नं. ९ र १० (पृथ्वीचोक, रङ्गशाला, बुद्धचोक, अस्पतालचोक) बाट २० जना, वडा नं. १४ र १५ (एयरपोर्ट, फूलबारी, रामबजार)बाट १५ जना तथा वडा नं. २९ र ३० (भण्डारढिक, सैनिक बस्ती, पटनेरी) बाट १२ जना नियन्त्रणमा लिइएको कास्कीका निमित्त सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिनुभयो । 

अन्य विभिन्न वडा तथा स्थानहरू-कसेरी, महेन्द्रपुल, लभ्लीडाँडा, बगालेटोल, तुलसीघाट, लामाचौर, चिसापानी, दिपाङताल, राजाचौतारा लगायतबाट व्यक्तिहरू पक्राउ परेका छन् । साथै, माछापुच्छ्रे गाउँपालिकाबाट तीन जना र अन्नपूर्ण गाउँपालिका–१ नौ डाँडाबाट १ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले यस्तो स्विप अप्रेसनलाई निरन्तरता दिने एसी कार्कीको भनाइ छ । टोले गुण्डा, लागु औषध प्रयोगकर्ता, मापसे गरी होहल्ला गर्ने, ध्वनि प्रदूषण गर्ने तथा समाजमा अशान्ति फैलाउने उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।