• १० वैशाख २०८३, बिहिबार

बर्दियाका दुई नगरपालिकामा भर्ना अभियान सुरु

blog

विद्यालयमा बालबालिकाको भर्ना गरिँदै। तस्बिर : यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), वैशाख १० गते ।
बर्दियाका दुई नगरपालिकाले विद्यार्थी भर्ना अभियान सुरु गरेका छन्। ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाले सङ्घीय सरकारले तोकेको समयभन्दा अघि नै भर्ना अभियान थालेका हुन्।

सङ्घीय सरकारले भर्ना अभियान वैशाख १५ गतेदेखि र पठनपाठन वैशाख २१ गतेदेखि सुरु गर्ने मिति तोकेको छ। तर दुवै नगरपालिकाले वैशाख ८ गतेदेखि नै भर्ना अभियान सुरु गरेका छन्। ठाकुरबाबा नगरपालिकाले वैशाख १५ गतेदेखि र बारबर्दिया नगरपालिकाले वैशाख १६ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेका छन्।

राजापुर नगरपालिकामा भने भोलि शिक्षा समिति बैठक बस्ने र सोही बैठकको निर्णय अनुसार अगाडि बढ्ने विद्यालय निरीक्षक दलबहादुर चौधरीले जानकारी दिनुभयो। बाँसगढी, गुलरिया र मधुवन नगरपालिकाले हालसम्म कुनै निर्णय नगरी केन्द्रकै कार्यतालिका अनुसार शैक्षिक सत्र सञ्चालन गर्ने जनाएका छन्। बढैयाताल र गेरुवा गाउँपालिकाले पनि सङ्घीय निर्देशन अनुसार नै अघि बढ्ने बताएका छन्।

गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले हालसम्म कुनै निर्णय नभएको र केन्द्रकै कार्यतालिका अनुसार अघि बढ्ने बताउनुभयो।

बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूले सङ्घीय सरकारले ढिलो मिति तय गर्दा विद्यार्थीको पढाइ प्रभावित हुने भएकाले शिक्षा समितिको निर्णयबाट भर्ना अभियान सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार वैशाख १५ गतेसम्म भर्ना र पाठ्यपुस्तक वितरण सकाएर १६ गतेदेखि पठनपाठन सुरु गरिने छ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले अभिभावकको गुनासो आउन थालेपछि स्थानीय तहको अधिकार प्रयोग गर्दै शैक्षिक सत्र सुरु गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थी लामो समय खाली नबसुन् भन्ने उद्देश्यले समयमै पठनपाठन सुरु गरेका हौँ।”

ठाकुरबाबा नगर शिक्षा समितिले वैशाख १४ गतेसम्म भर्ना प्रक्रिया सम्पन्न गरी १५ गतेदेखि कक्षा सञ्चालन गर्ने, पूर्वप्राथमिक तह दुई वर्षको मात्र बनाउने, बालविकास केन्द्र बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने तथा १५ गतेभित्र सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो।