काठमाडौँ, वैशाख १० गते । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुनर्निर्मित कार्यालय भवन बिहीबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको छ। उद्घाटनपछि उहाँले भवनको अवलोकन पनि गर्नुभयो।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्र प्रदान गर्नुभयो।
सो अवसरमा उहाँले सभ्य र सुरक्षित समाज निर्माणमा प्रहरीको भूमिकालाई आत्मसात् गर्दै पुनर्निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो। पुनर्निर्मित भवनबाट प्रवाह हुने सेवा अझ नागरिकमैत्री र व्यावसायिक हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रहरी र नागरिकबिचको सुदृढ सम्बन्धले मात्र सुरक्षित समाज निर्माण सम्भव हुने उल्लेख गर्दै उहाँले पुनर्निर्माणमार्फत प्राप्त सहयोगले प्रहरीलाई थप हौसला मिलेको र यस्तो सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभयो।
उहाँले प्रहरी कर्मचारीहरूले सेवा प्रदान गर्ने शैलीमा सकारात्मक परिवर्तन ल्याई बोली, वचन र व्यवहारलाई सम्मानजनक बनाउनुपर्ने बताउनुभयो। “प्रहरी पेसा होइन, सेवा हो,” भन्ने भावनासहित नागरिकको कानुनसम्मत अपेक्षा पूरा गर्न पुनर्निर्मित भवनले थप प्रेरणा दिने उहाँको भनाइ थियो।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल र काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष खेमराज तिवारीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
त्यसैगरी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुनर्निर्माण समितिका अध्यक्ष राकेश सिंहले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
