• ९ वैशाख २०८३, बुधबार

दसगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाइ अभियान

blog

नेपाली सुरक्षाकर्मीहरू र भारतका तर्फबाट सशस्त्र सीमाबल शैलेशपुरका कमान्डर एस जिडी नन्द लालसमेतको संयुक्त टोली ।

जयकृष्ण यादव

इनरुवा, वैशाख ९ गते । सुनसरीको कोशी गाउँपालिका-८, भण्टाबारी र भारतको भीमनगर सीमानाका दसगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाइ अभियान सुरु भएको छ। नेपाल भारतको दसगजा क्षेत्रमा दुइ देशीय सुरक्षाकर्मीले संयुक्त सरसफाइ अभियान सञ्चालन गरेको हो।

सुनसरीको भण्टाबारी र भारतको भीमनगरसँग जोडिएको नेपाल भारतको सीमा क्षेत्रको दसगजा क्षेत्रमा फोहरले गर्दा हिँड्डुल गर्न समेत समस्या भएको गुनासो आएपछि त्यहाँ संयुक्त सरसफाइ अभियान चलाएको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा भारतको एसएसबीको संयुक्त टोलीले अभियान सञ्चालन गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा मुल्म हे.क्वा. हरिपुर सुनसरीका सशस्त्र प्रहरी नायब उपरीक्षक शमशेर कार्की, इलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज, भारतका तर्फबाट सशस्त्र सीमाबल शैलेशपुरका कमान्डर एस जिडी नन्दलालसमेतको संयुक्त टोलीले सरसफाइ अभियान सञ्चालन गर्नुभएको हो ।

दुबै देशका सहभागी सुरक्षाकर्मीहरूले नेपाल र भारतको दसगजा क्षेत्रमा रहेको फोहाेरहरूलाई पन्छाउन र व्यवस्थित गर्दै अभियानलाई तीव्रता दिएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक कार्कीले दसगजामा रहेको फोहाेरले गर्दा साँझ बिहान हिँड्डुलमा समेत समस्या भएपछि संयुक्त सरसफाइ अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले दसगजा दुबै देशको सरोकार भएकोले सबै मिलेर दसगजा क्षेत्रलाई सरसफाइ गरेको र नागरिकहरूले पनि सफा बनाउनुपर्ने बताउनुभयो । अभियानमा स्थानीय व्यापारी, आमनागरिक, समाजसेवी, र पत्रकारहरूको समेत सहभागीता थियो ।

अभियानले सीमा क्षेत्रमा दुवै देशबिचको सहयोग र सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको भारतका  सशस्त्र सीमाबल शैलेशपुरका कमान्डर एस जिडी नन्द लालले बताउनुभयो।