• ९ वैशाख २०८३, बुधबार

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर

blog

सहभागितामूलक व्यवस्थापन

 १. सहभागितामूलक व्यवस्थापन भनेको के हो ? यसले सङ्गठनमा पार्ने सकारात्मक प्रभावहरू उल्लेख गर्नुहोस् । 

कुनै सङ्गठन, संस्था वा समुदायको लक्ष्य हासिल गर्न सञ्चालन हुने विभिन्न व्यवस्थापकीय कार्यमा यसका सरोकारवालाहरूलाई सहभागी गराउने व्यवस्थापकीय पद्धतिलाई सहभागितामूलक व्यवस्थापन भनिन्छ । व्यवस्थापनका विभिन्न सिद्धान्तहरू प्रतिपादन र विकास हुने क्रममा सङ्गठनमा मानव सम्बन्धलाई जोड दिन थालिएसँगै सहभागितामूलक व्यवस्थापनको सिद्धान्त विकास भएको हो । सङ्गठनका महत्वपूर्ण निर्णय प्रक्रियामा कामदार वा कर्मचारीको सहभागिताले उनीहरूको सन्तुष्टि र उत्प्रेरणा बढ्न गई कार्यसम्पादन स्तरसमेत बढ्न सहयोग पुग्ने हुँदा सहभागितामूलक व्यवस्थापन पद्धतिमा जोड दिने थालिएको पाइन्छ । सहभागितामूलक व्यवस्थापनले माथिबाट तल जाने निर्देशनमा मात्र नभई तल्लो तहका कामदार वा कर्मचारीबाट माथिल्लो तहमा प्राप्त हुने सुझाव र पृष्ठपोषणबाट सङ्गठनको लक्ष्य हासिल गर्न सहयोग पुग्दछ भन्ने मान्यतामा जोड दिन्छ । यस्तो व्यवस्थापन शैलीका कारण सङ्गठनमा कामदारहरूको अपनत्व, सम्मान, सशक्तीकरण र उत्प्रेरणा बढ्न गई सङ्गठनको लक्ष्य हासिल गर्न सहयोग पुग्दछ । यस सिद्धान्तलाई सङ्गठनको कार्यसम्पादनको साँघुरो घेरामा मात्र सीमित नगरी प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोग तथा समुदायको विकासमा समुदायका सदस्यहरूलाई सक्रिय सहभागिता गराउने जस्तो बृहत् क्षेत्रमा समेत अवलम्बन गरिँदै आइएको छ ।

सहभागितामूलक व्यवस्थापनले सङ्गठनमा पार्ने सकारात्मक प्रभावहरू 

कर्मचारीलाई सङ्गठनप्रति अपनत्व बोध गराई सङ्गठनको लक्ष्य प्राप्तिका लागि अग्रसर गराउने,

सङ्गठनको माथिल्लो तह र तल्लो तहका कर्मचारीबिच दोहोरो सञ्चार सम्भव भई सूचना आदान प्रदानमा सहज हुने,

शक्तिको अधिक केन्द्रीकरण कम हुने तथा शक्तिको विकेन्द्रीकरणको माध्यमबाट तल्ला तहका कर्मचारीको सशक्तीकरणमा सहयोग पुग्ने,

सङ्गठनका काम कारबाहीमा पारदर्शिता बढाउने,

सङ्गठनका निर्णय कार्यान्वयनमा कामदार वा कर्मचारीहरू जिम्मेवार र जवाफदेही बन्ने,

सङ्गठनमा सिर्जनात्मकता र नवप्रवर्तनले प्रश्रय पाउने,

कर्मचारीको उत्प्रेरणा र सन्तुष्टि बढ्न गई सङ्गठनमा टिकाउ दर बढ्ने,

सङ्गठनमा समूह भावना र टिम भावना विकास भई आपसी सहयोग, विश्वास र सहकार्य अभिवृद्धि हुने,

सङ्गठनभित्र द्वन्द्व निवारणमा सहयोग पुग्ने,

परिवर्तन व्यवस्थापन र सङ्गठन विकासमा सहयोग पुग्ने ।

अन्त्यमा सहभागितामूलक व्यवस्थापन सङ्गठनमा मानवीय पक्ष र उत्पादन पक्षलाई सन्तुलन मिलाई सङ्गठन विकासमा योगदान पु¥याउने महत्वपूर्ण व्यवस्थापकीय पद्धति हो । यसको अवलम्बनले कर्मचारी र सङ्गठन दुवैको हित रक्षा गर्दै सङ्गठनलाई प्रतिस्पर्धी लाभ हासिल गर्न योग्य बनाउँछ । सहभागितामूलक व्यवस्थापनको सिद्धान्त सङ्गठनको कार्यसम्पादनसँग मात्र सीमित नभई समग्र सार्वजनिक व्यवस्थापनको महत्वपूर्ण सिद्धान्तका रूपमा स्थापित भइसकेको छ । 


२. बोलपत्र पेस गर्नुपूर्वको बैठकका बारेमा सङ्क्षिप्त जानकारी प्रस्तुत गर्नुहोस् । साथै सार्वजनिक खरिदको सन्दर्भमा बोलपत्रदाता वा प्रस्तावदाताले पालना गर्नुपर्ने आचरणहरू उल्लेख गर्नुहोस् ।

सार्वजनिक निकायले बोलपत्रदातालाई बोलपत्रसम्बन्धी कागजात, प्राविधिक स्पेसिफिकेसन, निर्माणस्थल वा अन्य यस्तै कुरासम्बन्धी जानकारी गराउन बोलपत्र पेस गर्ने अन्तिम दिन अगावै आह्वान गर्ने बैठकलाई बोलपत्र पेस गर्नुपूर्वको बैठक भनिन्छ । यो बैठक राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचनाको हकमा बोलपत्र पेस गर्ने अन्तिम दिनभन्दा कम्तीमा दस दिन र अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचनाको हकमा कम्तीमा पन्ध्र दिन अगावै आयोजना गरिन्छ । तर पुनः बोलपत्र आह्वान गर्नुपर्ने अवस्थामा यस्तो बैठक सञ्चालन भइनसकेको भएमा बोलपत्रदातालाई पुनः बोलपत्रसम्बन्धी कुराको थप जानकारी दिन राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचनाको हकमा कम्तीमा पाँच दिन र अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचनाको हकमा कम्तीमा दस दिन अगावै आयोजना गर्न सकिन्छ । यस्तो बैठक बस्ने मिति र स्थानका सम्बन्धमा बोलपत्र आह्वानको सूचनामा उल्लेख गर्नु पर्दछ । 

यस बैठकमा बोलपत्रदाताले सार्वजनिक निकायसमक्ष प्रश्न वा जिज्ञासा राख्न सक्दछन् । त्यस्ता प्रश्नकर्ताको स्रोत उल्लेख नगरी सार्वजनिक निकायले प्रश्न वा जिज्ञासाको जवाफ र बैठकको माइन्युट सबै बोलपत्रदातालाई यथाशीघ्र उपलब्ध गरानु पर्दछ । बैठकबाट बोलपत्रसम्बन्धी कागजातको कुनै प्राविधिक वा व्यापारिक पक्षमा हेरफेर गर्नुपर्ने देखिएमा सार्वजनिक निकायले सोहीबमोजिम संशोधन गरी बोलपत्रसम्बन्धी कागजात खरिद गर्ने सबै बोलपत्रदातालाई संशोधनको बेहोरा बैठक भएको पाँच दिनभित्र पठाउनु पर्दछ । 

बोलपत्रदाता वा प्रस्तावदाताका आचरणहरू

सार्वजनिक खरिद प्रक्रिया वा खरिद सम्झौताको कार्यान्वयनमा प्रभाव पार्ने मनसायले बोलपत्रदाता वा प्रस्तावदाताले कुनै कार्य गर्नु गराउनु हुँदैन । यसका लागि बोलपत्रदाता वा प्रस्तावदाताले देहायका आचरण पालना गर्नु पर्दछ : 

सार्वजनिक खरिद ऐन, नियमावली, खरिद सम्झौता वा खरिदसम्बन्धी अन्य लिखतमा उल्लेख भएबमोजिमको दायित्व पालना गर्ने,

प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अनुचित प्रलोभन दिन वा सोको प्रस्ताव गर्न नहुने,

तथ्य बङ्ग्याई वा झुक्याई पेस गर्न नहुने,

भ्रष्टाचारजन्य वा जालसाजीपूर्ण कार्य गर्न वा त्यस्तो कार्यमा संलग्न हुन नहुने,

बोलपत्र वा प्रस्तावसम्बन्धी कामकारबाहीमा कुनै किसिमले संलग्न हुने अन्य प्रतिस्पर्धी बोलपत्रदाता वा प्रस्तावदाताको सहभागितामा हस्तक्षेप गर्न नहुने,

खरिद कारबाहीमा संलग्न कुनै व्यक्तिको जिउ ज्यान वा सम्पत्ति नोक्सान गर्ने प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने कार्य वा करकापजन्य कार्य गर्न नहुने,

बोलपत्रदाता वा प्रस्तावदाताबिच खरिदसम्बन्धी काम बाँडफाँट गर्ने गरी मिलेमतो गर्न नहुने,

बोलपत्र वा प्रस्तावको मूल्य कृत्रिम वा अप्रतिस्पर्धी तरिकाले कायम गर्न कुनै प्रकारको गुटबन्दी गर्न नहुने,

सार्वजनिक निकायलाई स्वतन्त्र प्रतिस्पर्धाको लाभबाट वञ्चित गर्ने उद्देश्यले बोलपत्र वा प्रस्ताव पेस गर्नुभन्दा अघि वा पछि मिलेमतो गर्न वा गुटबन्दी गर्न नहुने,

बोलपत्र वा प्रस्ताव खोलेको समयदेखि बोलपत्र वा प्रस्ताव स्वीकृतिको सूचना नदिँदासम्मको अवधिमा बोलपत्र वा प्रस्तावका सम्बन्धमा प्रभाव पार्ने उद्देश्यले सार्वजनिक निकायसँग सम्पर्क गर्न नहुने,

बोलपत्रको परीक्षण वा मूल्याङ्कनमा वा प्रस्तावको मूल्याङ्कनमा कुनै किसिमले प्रभाव पार्ने कार्य गर्न नहुने । 

अन्त्यमा बोलपत्र पेस गर्नुपूर्वको बैठकमा गरिने माइन्युटको कानुनी महत्व रहन्छ । यस बैठकले सार्वजनिक खरिद कार्यलाई व्यवस्थित बनाउन मद्दत गर्दछ । पूर्वनिर्धारित मिति र स्थानमा आयोजना हुने यस बैठकमा बोलपत्रदाताहरूको सहभागिता नरहे पनि खरिद प्रव्रिmया अवरुद्ध वा प्रभावित हुँदैन । बोलपत्र पेस गर्नुपूर्वको बैठकमा सहभागिता नजनाएकै कारणबाट बोलपत्रदातालाई खरिद कार्यका लागि अयोग्य घोषणा गर्न मिल्दैन । सार्वजनिक खरिद कार्यलाई व्यवस्थित गर्न बोलपत्रदाता वा प्रस्तावदाताले पेसागत आचरणका अतिरिक्त खरिद कानुनबमोजिम तोकिएका आचरण पालना गर्नु जरुरी छ ।


३. आन्तरिक राजस्व विभागको परिचय दिँदै विभागका प्रमुख कार्यहरू उल्लेख गर्नुहोस् । 

आन्तरिक राजस्व विभाग नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत रहेको महत्वपूर्ण विभाग हो । नेपालको आन्तरिक कर प्रशासनको विकासव्रmमको सिलसिलामा राजस्व प्रशासनसम्बन्धी विभिन्न नाममा स्थापित निकायहरू एकीकृत भई आन्तरिक राजस्व विभागको साङ्गठनिक संरचना तयार भएको हो । नेपाल सरकारको कुल राजस्वमध्ये करिब आधा हिस्सा यस विभागबाट सङ्कलन हुने गरेको छ । यस विभाग अन्तर्गत एक ठुला करदाता कार्यालय, एक मध्यमस्तरीय करदाता कार्यालय, छयालिस वटा आन्तरिक राजस्व कार्यालय र छत्तिस वटा करदाता सेवा कार्यालयहरू गरी कुल चौरासी वटा कार्यालयबाट आन्तरिक राजस्व प्रशासन हुँदै आएकोमा राजस्व सङ्कलन लागत घटाउन र डिजिटल पूर्वाधार विकास गरी करदाता सेवालाई विद्युतीय माध्यममा आधारित बनाउँदै लैजान करदाता सेवा कार्यालयहरू खारेज गरी ती कार्यालयहरूबाट सम्पादन हुँदै आएको काम कारबाहीहरू स्थानीय तहहरूमार्फत गर्ने प्रक्रिया अगाडि बढेको छ । यस विभागको प्रमुखको रूपमा महानिर्देशक रहने व्यवस्था छ । 

आन्तरिक राजस्व विभागका प्रमुख कार्यहरूः

करदाता सेवासम्बन्धी कार्य,

करदाता शिक्षा र कर साक्षरता अभिवृद्धि,

कर निर्धारण र कर सङ्कलन,

कानुनबमोजिम कर फिर्तासम्बन्धी कार्य,

कर परीक्षण तथा कर अनुसन्धानसम्बन्धी कार्य,

कर कानुन पालना सम्बन्धमा अनुगमन तथा मूल्याङ्कनसम्बन्धी कार्य,

कर नीति परिमार्जन तथा नयाँ नीति तर्जुमा गर्न पृष्ठपोषण उपलब्ध गराउने कार्य, 

कर कानुनको कार्यान्वयन र व्याख्या गर्ने कार्य,

कानुनी राय र पुनरावेदनसम्बन्धी कार्य,

प्रशासकीय पुनरवलोकनसम्बन्धी कार्य,

अन्तराष्ट्रिय करसम्बन्धी कार्य,

सहज सेवा प्रवाह तथा वित्तीय सूचना अभिलेखका लागि सूचना प्रविधिको विकास एवं प्रयोग र संस्थागत क्षमता विकाससम्बन्धी कार्य,

आर्थिक तथा सामान्य प्रशासनसम्बन्धी कार्य ।

अन्त्यमा नेपालमा आन्तरिक राजस्व प्रशासनसम्बन्धी कार्य गर्न आन्तरिक राजस्व विभागको स्थापना भएको हो । नेपालमा आन्तरिक राजस्वका स्रोतमार्फत कर राजस्व परिचालनमा यस विभागको अग्रणी भूमिका रही आएको छ । अधिकार र स्रोत साधनको विकेन्द्रीकरण, सूचना प्रविधिका माध्यमबाट डिजिटल सेवा विस्तार तथा कर सङ्कलन एवं कर अनुपालना लागत न्यूनीकरण गर्दै कार्यसम्पादन गर्न विभागले जोड दिँदै आएको छ ।


४. सार्वजनिक निकायले गर्ने खरिदमा सार्वजनिक खरिद ऐनको प्रक्रिया अपनाउनु नपर्ने अवस्थाहरू जानकारी गराउनुहोस् ।

नेपालमा सार्वजनिक खरिद कार्यमा सार्वजनिक खरिद ऐन पालनालाई अनिवार्य गरिएको छ । सार्वजनिक खरिद ऐनको दफा ३ ले सार्वजनिक निकायलाई यस ऐनबमोजिमको कार्यविधि पूरा गरी खरिद गर्न निर्देशित गरेको छ । ऐनबमोजिमको कार्यविधि पूरा नगरी गरिने खरिद बदर र अमान्य हुने घोषणासमेत गरेको छ । तथापि ऐनको दफा ६७ मा सार्वजनिक खरिद ऐनबमोजिमको प्रक्रिया अपनाउनु नपर्ने विशेष अवस्थासमेत उल्लेख गरिएको छ ।

सार्वजनिक खरिद गर्दा सार्वजनिक खरिद ऐनबमोजिमको प्रक्रिया अपनाउनु नपर्ने अवस्थाहरू

ऐनबमोजिमको प्रक्रिया अपनाई सुरक्षा, सामरिक वा प्रतिरक्षासम्बन्धी खरिद गर्न राष्ट्रिय सुरक्षा वा प्रतिरक्षासम्बन्धी दृष्टिकोणबाट उपयुक्त नहुने भनी नेपाल सरकारले निर्णय गरेमा,

नेपाल सरकार र दातृ पक्षबिच भएको सम्झौताबमोजिम सो पक्षको खरिद निर्देशिका –प्रोक्युरमेन्ट गाइडलाइन्स) अनुरूप खरिद गर्नु परेमा,

निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्न तोकिएबमोजिमका सार्वजनिक निकायले व्यवसाय सञ्चालनका लागि कुनै मालसामान वा सेवा खरिद गर्नु परेमा,

सामाजिक, सांस्कृतिक कार्यक्रम वा औद्योगिक, आर्थिक, प्रविधि प्रदर्शन र प्रवर्धनका लागि विदेशमा आयोजना हुने मेला, महोत्सव, ट्रेड फेयर वा प्रदर्शनी जस्ता कार्यका लागि तोकिएबमोजिम विदेशमा खरिद गर्नु परेमा,

विदेशस्थित नेपाली राजदूतावास, नियोग जस्ता सार्वजनिक निकायले मालसामान वा सेवा खरिद गर्नु परेमा,

विमान सेवा सञ्चालन गर्न स्वीकृत प्राप्त सार्वजनिक निकायले एभिएसन वा विमानसँग सम्बन्धित उपकरण खरिद गर्नु परेमा,

विशेष परिस्थितिमा खरिद गर्न वा नेपाल सरकारलाई कुनै निर्माण कार्य तत्काल गर्नुपर्ने भएको र ऐनबमोजिमको प्रक्रिया पूरा गरी खरिद गर्न नसकिने अवस्था भएमा सोको कारण खुलाई पूर्वाधार कम्पनीमार्फत खरिद गर्ने गरी नेपाल सरकारले नर्णय गरेमा ।

अन्त्यमा सार्वजनिक खरिद ऐनको प्रक्रिया अपनाउनु नपर्ने भनी उल्लेख भएका अवस्थाहरू राज्यको सुरक्षा तथा आर्थिक हितसँग जोडिएका विषय र विशेष परिस्थितिजन्य अवस्थाहरू हुन् । यी अवस्थामा पनि निश्चित कार्यविधिको पालना गरेर खरिद कार्य गर्नु पर्दछ । राष्ट्रिय सुरक्षा र सामरिक विषयहरू जोडिएका खरिद कार्यमा नेपाल सरकारले छुट्टै कार्यविधि बनाउनु पर्दछ । अन्य अवस्थामा सार्वजनिक निकायले कार्यविधि बनाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सहमति लिई कार्यविधि स्वीकृत गरी लागु गर्नुपर्ने व्यवस्था गरिएको छ ।


५. आर्थिक एवं समाजिक विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न नेपाल सरकारले के कस्ता निकाय वा क्षेत्रमा सेयर तथा ऋण लगानी गर्ने नीति लिएको छ ? 

आर्थिक एवं सामाजिक विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न नेपाल सरकारले निश्चित क्षेत्र वा निकायमा सेयर वा ऋण लगानी गर्न सक्ने र केही क्षेत्रमा सेयर वा ऋण लगानी नगर्ने गरी चयनात्मक नीति लिएको देखिन्छ । यस सम्बन्धमा सेयर तथा ऋण लगानी नीति, २०८१ ले लिएको नीतिगत दृष्टिकोण यस प्रकार छ ।

क) नेपाल सरकारले देहायका क्षेत्र र निकायमा सेयर तथा ऋण लगानी गर्न सक्ने :

नेपाल सरकारको पूर्ण वा नियन्त्रणात्मक स्वामित्वमा रहने सार्वजनिक संस्थान वा सङ्गठित निकाय वा कम्पनी,

सरकारले प्रवर्धन गरेका सार्वजनिक संस्थान वा सङ्गठित निकाय वा कम्पनी,

सार्वजनिक–निजी साझेदारीको अवधारणा अन्तर्गत स्थापित सार्वजनिक संस्थान वा सङ्गठित निकाय वा कम्पनी,

नेपालभित्र सार्वजनिक–निजी साझेदारीको अवधारणा अन्तर्गत कुनै बहुराष्ट्रिय कम्पनीले लगानी गर्न खोजेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्यममा सेयर लगानी,

द्विपक्षीय वा क्षेत्रीय सम्झौता अन्तर्गत कुनै व्यावसायिक काम गर्न स्थापित सङ्गठित निकाय,

नेपाल सदस्य रहेको अन्तरसरकारी बहुराष्ट्रिय निकायमा सेयर लगानी,

ख) सरकारले देहायका क्षेत्रमा सेयर वा ऋण लगानी नगर्नेः

बहुराष्ट्रिय निकायमा ऋण लगानी,

व्यक्तिलाई सिधै ऋण लगानी,

स्वदेशी तथा विदेशी धितोपत्र बजारका लगानी उपकरणहरूमा हुने लगानी,

नेपाल सदस्य रहेको अन्तरसरकारी बहुराष्ट्रिय कम्पनीबाहेक अन्य बहुराष्ट्रिय कम्पनीमा सेयर लगानी,

मदिरा तथा सुर्तीजन्य वस्तु उत्पादन र बिक्री वितरणमा हुने लगानी,

क्यासिनो, जुवाघर तथा त्यस्तै किसिमको सट्टेबाजी गर्ने व्यवसायमा हुने लगानी,

वैदेशिक रोजगार व्यवसायमा हुने लगानी ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा