• ९ वैशाख २०८३, बुधबार

कालोपत्रे सडकले फेरियो स्थानीयको दैनिकी

blog

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा सिम्लेखोला–हायुटार–सोलाभन्ज्याङ कालोपत्रे सडक । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, वैशाख ९ गते   । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा सिम्लेखोला–हायुटार–सोलाभन्ज्याङ सडक कालोपत्रे भएसँगै स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । बागमती प्रदेश सरकारको सहयोगमा करिब १७ किलोमिटर लम्बाइको सिम्लेखोला–हायुटार–सोलाभन्ज्याङ सडक स्तरोन्नति भई पक्की बनेपछि यस क्षेत्रको यातायात पहुँच सहज मात्र नभई भरपर्दो पनि बनेको स्थानीयले बताएका छन् । करिब २७ किलोमिटर लम्बाइ रहेको सिम्लेखोला–हायुटार–सोलाभन्ज्याङ–रामपुर सडक पालिकाको मुख्य सडक मार्ग हो ।

 वर्षाका बेला हिलो र सुक्खायाममा धुलोले सास्ती दिने कच्ची सडक अहिले कालोपत्रे भएपछि यात्रुलाई राहत पुगेको छ । यससँगै सोही सडकखण्डमा पर्ने ठाडीखोला र तामाजोर खोलामा निर्माण भएका पक्की पुल सञ्चालनमा आएसँगै वर्षभरि आवतजावत अवरोधविहीन भएको छ । सडक र पुल निर्माणले जिल्ला सदरमुकाम सिन्धुलीमाढीसँगको यातायात सम्पर्क अझ फराकिलो बनाएको गाउँपालिका अध्यक्ष जगतबहादुर भोलन बताउनुहुन्छ । उहाँका अनुसार सडक निर्माणले स्थानीयको जीवनशैली परिवर्तन गरिदिएको छ । पहिले घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेकोमा अहिले सवारीसाधनबाट सहज यात्रा सम्भव भएको छ । जसले शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पारेको उहाँ बताउनुहुन्छ । बागमती प्रदेश सरकारको सहयोगमा कच्ची सडकको करिब तीन वर्षअघिदेखि स्तरोन्नति गरी कालोपत्रे गर्न सुरु गरिएको उहाँले सुनाउनुभयो ।

यसैबिच बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटाले मङ्गलबार एक कार्यव्रmमबिच उक्त सडक र पुलको उद्घाटन गर्दै बाँकी रहेको सोलाभन्ज्याङ–रामपुर खण्डको करिब नौ किलोमिटर सडक पनि स्तरोन्नति गरी कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सडक विस्तारसँगै कृषि क्षेत्रमा पनि नयाँ सम्भावना देखिएको चर्चा गर्नुहुँदै उहाँले स्थानीय उत्पादन वृद्धि गरी बाहिरबाट आयात हुने तरकारी तथा फलफूललाई प्रतिस्थापन गर्दै निर्याततर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । सिम्लेखोला–हायुटार–सोलाभन्ज्याङसम्मको करिब १७ किलोमिटर कच्ची सडकलाई दुई खण्डमा स्तरोन्नति गरी २०८० सालदेखि निर्माण सुरु गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार पहिलो खण्ड सिम्लेखोला–हायुटारसम्मको १०.२० किलोमिटर सडक र दोस्रो खण्ड हायुटार–सोलाभन्ज्याङसम्म ६.३० किलोमिटर दुई खण्डमा ठेक्का लगाएर सडक कालोपत्रे गरिएको हो । पहिलो खण्डको सडक जयबाबा गोरख–सारस–बालबोट जेभी काठमाडौँ र दोस्रो खण्ड सन्जीव–सिन्धुली जेभिले निर्माण गरेको हो । यसै गरी ठाडीखोलामा र तामाजोर खोलामा ४० मिटर लामो पक्की गरिएको छ । दुवै पुल सिर्जना निर्माण सेवाले निर्माण गरेको कार्यालय प्रमुख लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।