विजयकुमार साह
ढल्केबर, वैशाख ९ गते । धनुषाको ढल्केबर क्षेत्रमा सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान तीव्र पारिएको छ। मिथिला नगरपालिकाले पूर्वसूचना अनुसार पूर्व–पश्चिम लोकमार्ग तथा सहायक मार्गको मापदण्डभित्र बनेका संरचना बुधबार बिहानदेखि हटाउन थालेको हो।
नगरपालिकाले सडक विस्तार तथा व्यवस्थित सहरी विकासलाई ध्यानमा राख्दै अतिक्रमण हटाउने कार्य अघि बढाएको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले बताउनुभयो। सोही क्रममा ढल्केबर चोकमा रहेको ट्राफिक प्रहरी कार्यालयको भवनसमेत भत्काइएको छ। सडकको सीमाभित्र परेकाले उक्त भवन हटाइएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख महतोले सार्वजनिक तथा सडक मापदण्ड मिचेर बनाइएका सबै संरचना खाली गराइने बताउँदै पूर्वसूचना दिएरै अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पूर्व–पश्चिम लोकमार्ग तथा दुर्गा मन्दिर सहायक मार्ग क्षेत्रमा रहेका सम्पूर्ण अतिक्रमित संरचना क्रमशः हटाइनेछ।
सडकको मापदण्ड कायम गरी आवागमनलाई सहज बनाउने तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको नगरप्रमुख महतोको भनाइ छ।