गजेन्द्र गुरुङ
खजुरा, वैशाख ९ गते । नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बाँकेले कालो ब्यानर प्रदर्शन गरेको छ ।
फोनिज बाँकेले स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक घोषणा गर्नका लागि दबाबस्वरूप केन्द्रीय कार्यक्रम अनुसार बाँके शाखामा कालो ब्यानर टाँगेको हो ।
स्व. सत्यनारायणबहादुर श्रेष्ठले तत्कालीन नेपाल पत्रकार सङ्घ वि.सं २००८ साल वैशाख ९ गते स्थापना गरी नेपाली पत्रकारलाई एकताबद्ध गर्ने अतुलनीय योगदान गर्नुभएको थियो ।
कार्यक्रममा फोनिज सङ्घीय सदस्य प्रज्ज्वल श्रेष्ठले विभिन्न कालखण्डमा आदिवासी जनजाति समुदाय विविध कारणले दबाबमा परिरहेको उल्लेख गर्दै आदिवासी जनजाति भएकै कारण कोही पनि पाखा लगाइन नहुने भन्दै सत्यनारायण बहादुर श्रेष्ठलाई महासङ्घले संस्थापकको रूपमा लिनुपर्ने बताउनुभयो ।
फोनिजका सङ्घीय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज गजेन्द्र गुरुङले स्व. सत्यनारायणबहादुर श्रेष्ठप्रति श्रद्धासुमन व्यक्त गर्दै महासङ्घले यथाशीघ्र उहाँलाई संस्थापक कायम गर्न पहल लिन आग्रह गर्नुभयो । उहाँले श्रेष्ठलाई महासङ्घको संस्थापक मान्ने विभिन्न आधारहरू रहेका र ती आधारमा टेकेर उहाँलाई संस्थापक मान्नुपर्नेमा जोड दिनुभयो ।
श्रेष्ठले तत्कालीन नेपाल पत्रकार सङ्घ विसं २००८ साल वैशाख ९ गते स्थापना गरी नेपाली पत्रकारलाई एकताबद्ध गर्ने अतुलनीय योगदान गर्नुभएको भन्दै तत्कालीन सङ्घ नै आजको नेपाल पत्रकार महासङ्घ भएको उल्लेख गर्नुभयो ।
फोनिज विगत लामो समयदेखि यस अभियानमा निरन्तर लागेको उल्लेख गर्दै उहाँले पत्रकारहरूले आफ्नो छाता सङ्गठनको इतिहास कायम गर्न सबै जना जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घको संस्थापकको विषय टुङ्गो लगाउन महासङ्घको २७ औँ महाधिवेशनले गरेको निर्णय अनुसार तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न र आफ्नो छाता सङ्गठनको इतिहास कायम गर्न सबै जना जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो ।
फोनिज लुम्बिनी प्रदेश कोषाध्यक्ष भगतराम थारू, बाँके अध्यक्ष अशोक थापा मगर, उपाध्यक्ष सोम गुरुङ लगायतले वैशाख ९ गतेलाई पत्रकार महासङ्घको स्थापना दिवस मान्न र स्व. सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक मान्नुपर्नेमा जोड दिनुभएको थियो ।