लङ्कापल्ली (भारत), वैशाख ९ गते । भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण जीवनमा गहिरोरूपमा जिउँदै छ । जङ्गलका बाटो, खेत र नदीकिनारमा गाडिएका सयौँ बारूदी सुरुङले अहिले पनि सर्वसाधारण र सुरक्षाकर्मी दुवैलाई निरन्तर जोखिममा राखेका छन् ।
मध्य भारतका विशाल वन क्षेत्रमा माओवादी लडाकूले वर्षौंसम्म दबाबद्वारा सक्रिय हुने इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) गाड्दै आएका थिए । यी विस्फोटक प्रायः माटोका सडकमुनि वा जङ्गली बाटोमा लुकाइन्थे, जसले गर्दा तिनीहरू देख्न र पहिचान गर्न अत्यन्त कठिन हुन्थ्यो । साधारण सामग्री जिलेटिन, बल बियरिङ र धातुका टुक्राबाट बनाइए पनि ती अत्यन्त घातक सावित भएका छन् ।
विद्रोहको उत्कर्षमा माओवादीले सन् २००० को दशकको मध्यतिर देशको झण्डै एक तिहाइ भूभागमा प्रभाव जमाएका थिए । उनीहरूले आफूलाई वन क्षेत्रका आदिवासी समुदायका अधिकारका लागि लडिरहेको दाबी गर्थे । तर हालैका वर्षमा भारतीय सुरक्षा बलले सञ्चालन गरेको अभियानपछि सरकार देश माओवादी प्रभावबाट मुक्त भएको घोषणा गर्न पुगेको छ ।
तर जमिनमुनि लुकेका विस्फोटकका कारण खतरा समाप्त भएको छैन । जिल्ला रिजर्भ गार्डमा कार्यरत २३ वर्षीय किशन हाप्काले भन्नुभयो, “सैनिकलाई सबैभन्दा ठूलो डर गोली होइन, यी दबाबमा विस्फोट हुने आइइडी हुन्, किनकि कहिले पाइला पर्छ भन्ने थाहा हुँदैन ।” उहाँ आफैँ सन् २०२४ मा यस्तै एक विस्फोटमा परेर बायाँ खुट्टा गुमाउनुभएको थियो । सो घटनामा अन्य तीन सैनिकको ज्यान गएको उहाँले स्मरण गर्नुभयो ।
अहिले उहाँ कृत्रिम खुट्टाको सहारामा प्रशासनिक काममा सीमित हुनुहुन्छ । पहिले माओवादीको बलियो आधार स्थल मानिने छत्तीसगढ राज्यको बस्तर क्षेत्रमा पछिल्लो २५ वर्षमा करिब ५०० सुरक्षाकर्मी यस्ता विस्फोटमा मारिएका छन् भने हजारभन्दा बढी घाइते भएका छन् । यी विस्फोटक मूलतः सुरक्षाबललाई लक्षित गरेर राखिए पनि त्यसको मार स्थानीय आदिवासी समुदायले पनि उत्तिकै भोगेका छन् ।
तथ्याङ्क अनुसार १५० भन्दा बढी सर्वसाधारणको ज्यान गएको छ भने २५० भन्दा बढी घाइते भएका छन् । ६५ वर्षीया तामा जोगी पनि यस्तै पीडितमध्ये एक हुनुहुन्छ । गत गर्मीमा उहाँ पशु चराउन जङ्गल गएको बेला, थाहा नपाई विस्फोटकमा पाइला राख्नुभयो । विस्फोटपछि उहाँको दाहिने खुट्टा गम्भीर रूपमा क्षतिग्रस्त भयो । “मेरो कानले केही पनि सुन्न छोड्यो र म बेहोस भएँ”, उहाँले सम्झिनुभयो । पछि अस्पतालमा होस आउँदा उपचार भइरहेको अवस्था देख्नुभएको उहाँले बताउनुभयो ।
चिकित्सकले उहाँको ज्यान जोगाउन अर्को खुट्टा समेत काट्नु परेको थियो, जसले गर्दा उहाँ पूर्णरूपमा अशक्त बन्नुभएको छ । सरकारी नीतिअनुसार कर्तव्यका क्रममा घाइते भएका सुरक्षाकर्मीको मात्र उपचार खर्च व्यहोर्ने व्यवस्था छ । जोगीका परिवारले थप पीडा भोग्नुपरेको छ, किनकि उहाँका छोरालाई माओवादी सम्बन्धको आरोपमा पक्राउ गरिएको छ, जुन आरोप उहाँ अस्वीकार गर्नुहुन्छ । उहाँ अहिले पनि कारागारमै हुनुहुन्छ । “अब कसलाई दोष दिने भन्ने नै थाहा छैन”, जोगीले गहिरो निराशा व्यक्त गर्नुभयो ।
राज्यका अधिकारीहरूका अनुसार यस्ता विस्फोटक अझै व्यापकरूपमा फैलिएका छन् । उपमुख्यमन्त्री विजय शर्माले भन्नुभयो, “यी आइइडी पोखरीको छेउ, सडकको किनार, नदीको आसपास जहाँ पनि गाडिएका हुन सक्छन् ।” उहाँका अनुसार दैनिकरूपमा दर्जनौँ विस्फोटक निष्क्रिय पारिँदै छन्, तर समस्या अझै ठूलो नै छ ।
लङ्कापल्ली गाउँका ३५ वर्षीय राजु मोडियमले पनि यसको पीडा भोग्नुभएको छ । जनवरीमा माछा मार्न जाँदा परिचित बाटो रोज्दा आफू सुरक्षित हुने विश्वास उहाँमा थियो । तर त्यही बाटोमा लुकेको विस्फोटकमा पाइला परेपछि उहाँको खुट्टा गम्भीर रूपमा नष्ट भयो । “मैले खुट्टा हेर्दा सबै चिराचिरा भएको थियो, जताततै रगत थियो”, उहाँले भन्नुभयो । उपचारपछि उहाँले खुट्टा गुमाउनुभयो ।
आर्थिकरूपमा कमजोर उहाँको परिवार कृत्रिम खुट्टा किन्ने अवस्थामा छैन । उहाँकी २१ वर्षीया श्रीमती जयम्माले भन्नुभयो, “कृत्रिम खुट्टाका लागि चाहिने पैसा हामीसँग छैन ।” परिवारको जीविकोपार्जन जङ्गलमै निर्भर भएकाले अहिले उनीहरू थप कठिनाइमा परेका छन् । प्रहरीका अनुसार गत वर्ष बस्तर क्षेत्रमा करिब ९०० विस्फोटक फेला पारिएको थियो भने सन् २०२६ को पहिलो तीन महिनामै ३०० बरामद भइसकेका छन् । स्थानीय प्रहरी प्रमुख सुन्दरराज पीका अनुसार अझै क्षेत्रलाई पूर्णरूपमा आइइडीमुक्त घोषणा गर्ने अवस्था आएको छैन । उहाँले बस्तरको जटिल भौगोलिक अवस्थाका कारण यस्तो समस्या समाधान गर्न चुनौतीपूर्ण भएको बताउनुभयो ।
यद्यपि, सरकारी दाबीअनुसार अधिकांश काम सम्पन्न भइसके पनि स्थानीय बासिन्दाका लागि डर अझै कायम छ । “हामी अब जङ्गल जानै डराउँछौँ”, मोडियमले भन्नुभयो, “यदि फेरि विस्फोटकमा पाइला प¥यो भने के हुन्छ भन्ने चिन्ता सधैँ रहन्छ ।” रासस/एएफपी