रमेश विश्वकर्मा
गुल्मी, वैशाख ९ गते । गुल्मीको मदाने गाउँपालिकाले भनभनेको कुडापानी खेलमैदानमा ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगिता आज देखि सुरु गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगिता अन्तर्गत वडास्तरीय महिला भलिबल प्रतियोगिता तथा अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो।
तीन दिनसम्म सञ्चालन हुने भलिबल प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले गर्नुभयो। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसात् गरी खेलका माध्यमबाट गाउँपालिकालाई चिनाउन विगतदेखि नै अध्यक्ष कपको आयोजना गरिएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताउनुभयो। स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितामा छ समूह र वडास्तरीय महिला भलिबल प्रतियोगितामा मदाने गाउँपालिकाभित्रका सातवटै वडाको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत भिमार्जुन भुसालले जानकारी दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार वडास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३ रुपियाँ, दोस्रो हुनेलाई २२ हजार २२२ रुपियाँ र तेस्रो हुनेलाई ११ हजार १११ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार १११ रुपियाँ, दोस्रो हुनेलाई ५५ हजार ५५५ रुपियाँ र तृतीय हुनेलाई २५ हजार ५५५ रुपियाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।