• ८ वैशाख २०८३, मङ्गलबार

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

blog

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिदै । तस्बिर अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, वैशाख ८ गते । विपन्न, असक्त, द्वन्द्वपीडित तथा अभिभावकविहीन विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धि गर्ने उद्देश्यले पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

धुलिखेल–काभ्रेमा रहेको सहयोग र सरोकार संस्थाले गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामग्री प्रदान गरेको हो । संस्थाको “जीवन ज्योति छात्रवृत्ति कार्यक्रम” अन्तर्गत मङ्गलबार बागमती गाउँपालिका–स्थित महाबुद्ध आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमअन्तर्गत द्वन्द्वपीडित, अभिभावकविहीन तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका ५४ जना विद्यार्थीलाई लक्षित गरी सामग्री वितरण गरिएको संस्थाले जनाएको छ । यसअघि वैशाख ७ गते सोमबार बागमती गाउँपालिका–१ स्थित सूर्य माध्यमिक विद्यालयमा पनि १८ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

संस्थाले विगत केही वर्षदेखि यस्ता कार्यक्रममार्फत बागमती गाउँपालिकाका विद्यार्थीहरूलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ । कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, संस्थाका कृषि संयोजक रोशन प्रजापती, शिक्षा विभाग संयोजक कुमार रम्तेल, गोपाल केसी, फिल्ड कोअर्डिनेटर विजय बजगाईं तथा विवेक सिङ्तानलगायतको उपस्थिति रहेको थियो ।