गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ८ गते । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारी तीव्र बनाएको छ । यस क्रममा सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवबिच सोमबार बजेट तयारीसम्बन्धी छलफल भएको छ ।
सबै विषयगत मन्त्रालयका मन्त्री तथा सचिवलाई अर्थ मन्त्रालयमा आमन्त्रित गरी बजेटको तयारी अवस्था, बजेट निर्माणका प्राथमिकता र अनुशासनका विषयमा छलफल/अन्तर्क्रिया गरिएको यो पहिलो अभ्यास रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफल कार्यक्रमको समापन समारोहमा अर्थमन्त्री डा. वाग्लेले नेपालको सार्वजनिक वित्त सङ्कटको अवस्थामा रहेको सन्दर्भमा आगामी बजेटमा सबैको सामूहिक परीक्षण हुने जानकारी गराउनुभयो । राज्यको अनिवार्य दायित्व १,३३० अर्ब र राजस्व १,१८० अर्ब रुपियाँ रहेको अवस्थामा नागरिकका आकाङ्क्षा सम्बोधन हुने गरी बजेट निर्माण गर्नु चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो ।
बजेटका लागि सिद्धान्तका रूपमा सुशासन तथा संस्थागत सबलीकरण, व्यष्टि र समष्टि अर्थतन्त्र, सदाचार नीतिको अवलम्बन, फराकिलो आर्थिक वृद्धिसहितको आर्थिक विकास, निजी लगानी, सूचना प्रविधिको विस्तार, हरित उत्पादन, पुँजी निर्माणका लागि पूर्वाधार विकास, मध्यमस्तरीय वर्गको विकास, विपन्न वर्गको उत्थान र सौम्यशक्तिको विस्तार जस्ता सैद्धान्तिक आधारलाई ध्यानमा राखेर बजेट तथा कार्यक्रम छनोट गर्नुपर्ने जोड अर्थमन्त्रीको थियो । अर्थमन्त्री डा. वाग्लेले अर्थ मन्त्रालयका बाध्यता र सीमा सबै मन्त्रालयलाई जानकारी भएको र सोहीबमोजिम आआफ्ना मन्त्रालयका प्राथमिकता निर्धारण गरी बजेट निर्माण कार्यमा लाग्न अनुरोध गर्नुभयो ।
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले अर्थ मन्त्रालयले रकमान्तरमा विषयगत मन्त्रालयबाटै हुने गरी सहजीकरणका लागि निर्णय गरेको, बहुवर्षीय ठेक्काको स्रोत सहमतिको समयसीमा परिवर्तनलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव डा. सुमन दाहालले आगामी आवको बजेट तयारीको हालसम्मको अवस्थाबारे सङ्क्षिप्त प्रस्तुति गर्नुभएको थियो । त्यस अवसरमा विषयगत मन्त्रालयका मन्त्रीहरूले आआफ्नो मन्त्रालयको बजेट तथा कार्यक्रमसँग सम्बन्धित स्थिति र समस्याका विषय उठाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट तथा सदस्य र प्रधानमन्त्रीका प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालसमेतको सहभागिता रहेको थियो ।