शंकर केसी
सल्यान, वैशाख ८ गते । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको आधुनिक बसपार्क यही बुधबार औपचारिक रूपमा उद्घाटन गरिने भएको छ। शारदा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको यस बसपार्क उद्घाटनका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिइने भएको छ।
नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सोमबार सम्पन्न कार्यपालिकाको ६४औँ बैठकले बसपार्क उद्घाटन कार्यक्रमकै अवसरमा सो दिन शारदा नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गत पुसदेखि नै बसपार्क सञ्चालनमा आइसकेको छ। हाल साना, ठूला तथा छोटो र लामो दूरीका सबै प्रकारका सवारीसाधन बसपार्कभित्रबाटै सञ्चालन भइरहेका छन्। यसअघि बजार क्षेत्रका सडक र फुटपाथमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका पसल तथा व्यवसायलाई समेत बसपार्कभित्रै व्यवस्थापन गरिएको छ।
बसपार्क सञ्चालनको जिम्मेवारी टेन्डर प्रक्रियामार्फत जय बागेश्वरी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, शारदा नगरपालिका–२ लाई दिइएको छ। सम्झौताअनुसार उक्त कम्पनीले शारदा नगरपालिकालाई वार्षिक करिब ५२ लाख रुपैयाँ राजस्व बुझाउनेछ। बसपार्क सञ्चालनले नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि हुनुका साथै सेवाग्राहीलाई सहजता हुने नगरपालिकाले जनाएको छ।
आर्थिक वर्ष २०८०/०८१ बाट निर्माण सुरु गरिएको बसपार्क करिब सात हजार वर्गमिटर क्षेत्रफलमा सरकारी ऐलानी जग्गामा फैलिएको छ। करिब दुई वर्षमा निर्माण सम्पन्न भए पनि केही प्राविधिक तथा प्रशासनिक कारणले सञ्चालनमा आउन ढिलाइ भएको थियो।
बसपार्क क्षेत्रमा दुईवटा १७/१७ कोठे व्यापारिक भवन निर्माण गरिएका छन्। जसअन्तर्गत ३५ वटा व्यापारिक स्टल र ३४ वटा सटर रहेका छन्। साथै सार्वजनिक शौचालय, गेट, पार्किङ, फुटपाथ, नाला लगायतका संरचना समेत निर्माण गरिएको छ। बसपार्क नेपाल सरकार र कर्णाली प्रदेश सरकारसँगको साझेदारीमा निर्माण गरिएको हो।