• ८ वैशाख २०८३, मङ्गलबार

किसानका पक्षमा आवाज उठाउँदै

blog

विष्णुप्रसाद पोखरेल 

दमक, वैशाख ८ गते ।  राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओली समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । उहाँले राप्रपाबाट संसद्मा प्रमुख सचेतकको समेत जिम्मेवारी पाउनुभएको छ । 

नेपाली राजनीतिमा पछिल्लो समयमा केही यस्ता पात्र उदाएका छन्, जसले आफ्नो विगतको परिचय बदलेर नीति निर्माणको तहमा हस्तक्षेपकारी उपस्थिति जनाइरहेका छन् । त्यस्तैमध्ये एक चर्चित नाम बनेको छ खुश्बु ओली । कुनै समय ‘मिस टिन’ र सफल मोडेलका रूपमा उहाँलाई चिनिन्थ्यो । उहाँले काठमाडौँका सडकमा बेवारिसे अवस्थामा रहेका बालबालिकाको पीडा देखेर ‘सेल्टर नेपाल’ मार्फत उनीहरूको संरक्षण अभियान चलाउनुभयो । अभियानले उहाँलाई ‘सेलिब्रेटी’ बाट ‘भुइँतहको अभियन्ता’ बनायो । अहिले उहाँ प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । उहाँले संसद्मा संस्कृत भाषामा शपथ लिएर धेरैको ध्यान आकृष्ट गर्नुभयो । 

सडक बालबालिकालाई फुटबल र शिक्षासँग जोड्ने उहाँको प्रयासले समाजको भित्री तह बुझ्ने मौका दिलायो । यही सामाजिक कार्यको जगले नै अहिले राजनीतिमार्फत ठुलो परिवर्तन गर्न सकिन्छ भन्ने आँट उहाँमा आएको छ । झापाको माटोबाट सुरु भएको उहाँको यात्रा, बेलायतको शिक्षा, काठमाडौँको ग्ल्यामर, सडक बालबालिकाको साथ हुँदै आज देशको सर्वोच्च नीति निर्माण तहसम्म आइपुगेको छ । 

ओलीले किसानका समस्या नजिकबाट बुझ्नुभएको छ । गरिबीको पीडा नजिकबाट नियाल्नुभएको छ । उहाँले यो छोटो समयमा पनि संसद्मा रोपाइँअघि नै मलखाद किसानलाई उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराउनुभएको छ । मलका लागि वैकल्पिक आपूर्ति स्रोत खोज्ने, आपूर्ति विविधीकरण गर्ने कृषि मलको सप्लाई चेन वितरणमा सरकारको महìवपूर्ण भूमिका हुनुपर्ने र भण्डारण बढाउने काम तुरुन्त गर्नुपर्ने सुझाव पनि उहाँको रहेको छ । 

झापामा केही समयअघि आएको हावाहुरीले घरका छाना उडाएको, मकैबाली नष्ट गरेको स्मरण गर्दै यस्तो विपत्को समयमा सरकार रहेको अनुभूति हुने गरी काम गर्न सरकारलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा जनताको बसोबासको स्तर उकास्ने, सुरक्षित र दिगो आवास सुनिश्चित गर्ने नीतिलाई प्राथमिकतामा राख्न अपरिहार्य भएकाले यो विषय म निरन्तर उठाउँछु ।”

कृषकका समस्याको विषयमा आफूले कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीलाई भेटेर किसानका समस्या समाधानका लागि पहल गर्न आग्रह गरिसकेको बताउनुभएको छ । किसानले बिमा गर्दा नेपाल सरकारले तोकेका बिमा कम्पनीले किसानलाई आवश्यक परेको समयमा बिमा गर्न नमान्ने वा टार्ने प्रवृत्तिलाई तुरुन्त नियमन गरी उत्तरदायी बनाइनुपर्ने माग राखेको उहाँले जनाउनुभयो ।

पछिल्लो केही समययता घृणा फैलाउने काम गरिएकोप्रति उहाँको असन्तुष्टि छ । कसैको जीवनमा क्षति पुग्ने गरी घृणा फैलाएर त्यसबाट लाभ उठाउनु अनैतिक मात्र होइन, अत्यन्तै पतित सोच भएको उहाँ बताउनुहुन्छ । यस्तो मानसिकता समाजका लागि खतरा भएको र यसलाई सामान्य बनाउन नमिल्ने उहाँको भनाइ छ ।