अजय शाह
गौशाला (महोत्तरी), वैशाख ८ गते । महोत्तरी जिल्लाका उत्तरवर्ती क्षेत्रका किसानहरू पशुपालन व्यवसायतिर आकर्षित भएका छन् । जिल्लाका बर्दिवास, गौशाला, भङ्गहा, औरही नगरपालिकाका, सोनमा र सम्सी गाउँपालिकाका विभिन्न वडाका किसानहरू पछिल्लोपटक पशुपालन व्यवसायतर्फ आकर्षित भएका छन् ।
भङ्गाहा बाहेकका सबै पालिकाहरू पूर्वपश्चिम राजमार्गसँग जोडिएको वन क्षेत्र वरिपरि भएकाले मौसम अनुसार घाँसपात पाइने भएपछि आफूहरूले व्यावसायिक रूपमै पशुपालन पेसा अँगालेको त्यहाँका किसानहरू बताउँछन् ।
यता बडहरी, रातु र बिग्ही नदी किनारमा घाँसिलो मैदान विकास भएपछि भङ्गाहामा पशुपालन गर्ने किसानको सङ्ख्यामा निक्कै वृद्धि भएको छ । यी पालिकाहरूको बस्तीमा किसानले मुख्यतया बाख्रापालन र गाईभैँसी पालनमा निकै अभिरूचि देखाएको सम्बन्धित पालिकाहरूले जनाएको छ।
यसै कुरालाई मध्यनजर गर्दै महोत्तरीको बर्दिवास नगरपालिकाले ग्रामीण महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित बर्दिवास–१, सनिगाछी टोलस्थित “सयपत्री महिला पशुपालन कृषक समूह” का २४ जना सदस्यहरूलाई प्रति कृषक २ वटाका दरले हालै जम्मा ४८ वटा उन्नत जातका बाख्रा वितरण गरेको छ।
नगरपालिकाले “बाख्राका साना व्यवसायिक उत्पादन केन्द्र” स्थापना गर्ने दीर्घकालीन योजना अघि सारेको छ। नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले स्थानीय सरकारको मूल लक्ष्य नै नागरिकलाई आत्मनिर्भर रहेको बताउनुभयो । उहाँले प्रत्येक बाख्राको मूल्य १० हजार रुपियाँ राखिएको छ र सोही बराबरको जीवन बिमा समेत नगरपालिकाले गरिदिएको बताउनुभयो।
बर्दिवास नगरपालिकाका अनुसार हाल नगरका १४ वटै वडामा २८ वटा महिला कृषक समूहमार्फत पशुपालन कार्यक्रम सञ्चालन भइरहेको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मधेश प्रदेशका वरिष्ठ पशु चिकित्सक डा. संजीव कुमार ठाकुरका अनुसार पछिल्लोपटक वनक्षेत्रमा घाँसे बुट्यानहरू समुदायको प्रयत्नमा संरक्षित हुन थालेपछि वन क्षेत्र वरिपरिका पालिकाका बस्तीहरूमा पशुपालन व्यवसाय अँगाल्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ । यी पालिकाका बस्तीमा पशुपालन व्यवसाय फस्टाउँदै गए पनि स्थानीय जातका मात्र पशुबस्तु पालिने गरेकाले किसानहरूले अपेक्षित फाइदा भने लिन नसकेका पशु विज्ञहरूले बताएका छन् ।
यता पशुपालक किसानहरूले भने उन्नत जातका बाख्रा, गाईभैँसी लगायतका पशुबस्तु खोज्न र तिनको उन्नत नश्लबारे यकिन गर्न पशुसेवा शाखाले राम्रो समन्वय नगरिदिएको गुनासो गरेका छन् ।
बर्दिवास नगरपालिका–३ की बाख्रापालक किसान कृष्णामाया भुजेलले आफूले दुई तीन पटक उन्नत नश्ल भनेर बाख्रा ल्याएको भए पनि जातबारे यकिन गर्न नसक्दा आफू ठगिएको बताउनुभयो ।
पशुपालन व्यवसायतिर आकर्षित भएका यी ग्रामीणबस्तीका किसानहरूलाई पालिकाका पशु शाखाले परामर्श, उपचार र गर्भाधानसम्बन्धी राम्रो सेवा सुविधा समन्वय गरिदिए किसानले अपेक्षित लाभ लिनसक्ने जिल्लावासीहरू बताउँछन् ।