तिलाचन पाण्डे
तम्घास (गुल्मी), वैशाख ८ गते । गुल्मीमा भने तीन वर्षमा बन्नुपर्ने पुल १३ वर्षसम्ममा पनि बन्न सकेको छैन् ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ को पुल क्याम्प र स्याङजाको कालीगण्डकी गाउँपालिका-१, चण्डी भन्ज्याङ जोडने गरी कालीगण्डकी नदीमा तीन वर्षमा बन्नुपर्ने पुल १३ वर्ष बित्दासमेत अझै पूरा हुन सकेको छैन् ।
२०६९ साल असार २५ गते सडक डिभिजन कार्यालय पाल्पा र स्वच्छन्द निर्माण सेवा प्रा लि काठमाडौँबिच २० करोड ५३ लाख ८६ हजार ५५३ रुपियाँको लागतमा २०७२ साल असार २४ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
उक्त मोटरेवल पुल छ मिटर चौडाइ र १५० मिटर लम्बाइको रहने र स्टिल ट्रसको निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ ।
निर्माण व्यवसायीका इन्जिनियर अजय लामिछानेका अनुसार पहिलेनै डिजाइन परिवर्तन गर्नका लागि कार्यालयलाई आग्रह गर्दा पनि कार्यालयले ढिला गरिदिएका कारण समस्या भएको बताउनुभयो ।२०७२ सालमा आग्रह गरेको भए पनि २०८० सालमा डिजाइन (वेयलबाट पायल फाउन्डेसन) परिवर्तन भएर आएको उहाँले बताउनुभयो ।
अहिले ट्रस निर्माणको काम भइरहेको बताउनुभयो । पछिल्लो समयमा डन्डी र फलामसँगै सिमेन्टको मूल्य वृद्धि हुनुका साथै अर्डर गरेको सामग्री पनि समयमै निर्माणस्थलमा ल्याइदिन ढिला गरेका कारण समस्या भएको उहाँको भनाइ छ ।
यसका साथै बजेट अभाव पनि अर्को कारण रहेको लामिछानेले बताउनुभयो । अहिले पुल निर्माणको ८१ प्रतिशत भौतिक प्रगति भएको र करिब ५० प्रतिशत वित्तिय प्रगति भएको उहाँले बताउनुभयो ।
अहिले तोकिएकै समय अवधिमा कार्य सम्पन्न गर्न असमर्थ हुने भएकाले असार मसान्तसम्म काम सम्पन्न गरी हस्तान्तरण गर्ने उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार उक्त स्थानमा बन्ने पुलको फाउन्डेसनमा ठुलो चट्टान भएकाले निर्माणमा समय लागेको बताउनुभयो ।
पछि वेयर फाउन्डेसनको डिजाइनलाई परिवर्तन गरी पायल फाउन्डेसन बनाइएको र अहिले उक्त पुलको करिब ८१ प्रतिशत भौतिक प्रगति भएको छ भने ५० प्रतिशत वित्तीय प्रगति भएको लम्सालले बताउनुभयो ।
विभिन्न समयमा पाँच पटकसम्म म्याद थप गरिएको र पछिल्लो समय थपिएको म्याद २०८३ जेठ २५ गते सम्म सम्पन्न गर्नुपर्ने छ । उहाँका अनुसार यहि अवस्थामा तोकिएकै समय अवधिमा काम सम्पन्न हुने अवस्था नरहेको बताउनुभयो ।
कार्यालयको तर्फबाट समयमै काम सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई ताकेता गर्दै आएको उहाँको दाबी छ । यस आर्थिक वर्षमा निर्माणको काम सम्पन्न हुनेमा कार्यालय ढुक्क भएको लम्सालले बताउनुभयो ।