नवीनराज कुइँकेल
लमजुङ, वैशाख ८ गते । विवाह भन्ने बित्तिकै धेरैको मानसपटलमा आउने गर्दछ सुन र दाइजो ।समाज तथा आफन्तजनलाई देखाउनकै लागि पनि धेरै सुनका गरगहनामा झकिझकाउ हुन्छन् दुलही ।
सुन मात्र होइन दाइजो लिने प्रचलन कानुनी रूपमा गलत मानिए पनि सामाजिक रूपमा भने भित्र भित्रसम्म जरा गाडेर बसेको अवस्था छ ।
तर, बेँसीसहर नगरपालिका–९ निवासी गोमा अर्यालले भने आफ्नो विवाहमा यी दुबै वस्तुको बहिष्कार गर्नुभयो । अर्यालले सोमबार सम्पन्न विवाहमा सुनका गहना नलगाएरै विवाह गर्नुभयो ।
समाजमा भएका गलत संस्कारको बहिष्कार गर्नुपर्छ भन्ने सन्देश दिन सुनका गहना नलगाएरै विवाह गरेको नव दुलही गोमाले बताउनुभयो ।गोमाले चितवन निवासी सागर रावतसँग बेँसीसहर–१, उदीपुरस्थित कालिका मन्दिरमा विवाह गर्नुभएको दाजु कुमार अर्यालले जानकारी दिनुभयो ।
बेहुलीले विवाह मण्डपमा रहँदा पञ्च धातुबाट बनेको सुन जस्तै देखिने गहना लगाउनुभएको थियो । स्वयंवर गर्दा बेहुला बेहुलीले कुशको औँठी साट्नुभएको थियो। गोमा आप्रवासी स्रोत केन्द्र लमजुङमा सहजकर्ता पदमा कार्यरत हुनुहुन्छ ।सागर विएस्सीएजी उत्तीर्ण युवा हुनुहुन्छ ।
गोमाले भन्नुभयो, “मैले विवाहमा सुन नलगाउनु मात्र ठुलो कुरा होइन तर, यसले दिने सन्देश समाजमा सकारात्मक जाओस् भन्ने हो ।”
दिनहुँ अकासिँदै गएको सुनको भाउले निम्न वर्गका परिवारमा विवाह गर्नै मुस्किल पर्न थालेको छ । सुन विनाको विवाह गर्ने सामाजिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता खड्किएका बेला गोमाको जोडीले देखाएको उदाहरण थप प्रेरणा मिल्नसक्ने नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण केसी बताउनुहुन्छ ।
सुनको भाउ महङ्गिरहेका बेला गोमा र सागरको सुन बिनाको बिहेले समाज रूपान्तरणमा थप राहत मिलेको सामाजिक अभियन्ताले बताएका छन् ।
उहाँको बिहेको विषयमा सामाजिक सञ्जालमा प्रशंसा गर्न थालिएको छ । गोमाका दाजु कुमारले भन्नुभयो, “आर्थिक रूपमा बोझिलो हुने परम्पराहरूको अन्त्य गर्नु पर्छ । यसको सुरुवात बैनीबाट हुँदा खुसी लागेको छ ।”
मुलुकी अपराध संहिता २०७४ ले दाइजो लिनुलाई अपराध मानेको छ । यसमा आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलाहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउन हुँदैन भनिएको छ ।
दाइजो लिने, दिने र दाइजोको बार्गेनिङ गराउने तिनै पक्षलाई सजायको भागिदार बनाएको छ । दाइजो लिने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।