काठमाडौँ, वैशाख ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।
यही वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ वर्ष मुनिका बालबालिकाको आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण कम गर्ने र बाल मृत्यु दर घटाउने उद्देश्यले बैशाख ६ र ७ गते देशैभर ६ देखि ५९ महिनाका करिब २३ लाख बालबालिकालाई भिटामिन ए, १२ देखि ५९ महिनाका करिब २१ लाख बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका करिब आठ लाख बालबालिकालाई बाल भिटा खुवाउने लक्ष्य लिएको थियो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५० हजार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मी खटिएका थिए ।
सरकारले हरेक आर्थिक वर्षको कात्तिक र वैशाखमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि र जुकाको औषधी खुवाउने कार्यक्रम २०६७ सालदेखि सञ्चालन गर्दै आइरहेको छ । रासस