रामकृष्ण बोहरा
बागलुङ, वैशाख ८ गते । बागलुङ नगरपालिका–४, कुँडुलेस्थित श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा रङ्गवैकदेश मुक्तिनारायाण भगवान्काे ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव सुरु भएको छ ।
महोत्सवको पहिलो दिन सोमबार विधिवत पूजाअर्चना गरी सामूहिक श्रीमद्भागवत गीता वाचन सुरु गरिएको छ । कर्मयोग, ज्ञानयोग र भक्तियोगको माध्यमबाट आध्यात्मिक चेतना जगाई समाजलाई अनुशासित र मर्यादित बनाउने उद्देश्यसहित यस वर्षको महोत्सवलाई गीतामय बनाइने शालग्राम सङ्ग्रहालयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।
अध्यात्मप्रतिको अविश्वास र व्यस्त जीवनशैलीले निम्त्याउने तनाव व्यवस्थापनका लागि पनि गीताज्ञान आवश्यक भएको स्वामी प्रपन्नाचार्यको तर्क छ । ११ गतेसम्म चल्ने महोत्सवमा सामूहिक गीता पाठ, भजनकीर्तन, कथावाचन, शालग्राम र शालिग्राम शिला पाइने पवित्र कालीगण्डकी नदीबारे विशेष चर्चा र रथयात्रा गरिने छ ।
केही दिनअघि दिल्लीको अक्षरधामबाट आउनुभएका स्वामी मुनिवत्सल, धर्ममुक्ति दास, शुद्वस्वरूप दाशसहित पाँच सयबढी भारतीय तीर्थयात्रीले एकैदिन शालग्राम सङ्ग्रहालयको दर्शन गरेपछि यसको महत्त्व झनै बढेर गएको छ ।
शालिग्रामको महत्त्व भारत वर्षमा, नेपालको मधेश प्रदेश र मिथिला सभ्यतामा बढी महत्त्व भएकोले सो क्षेत्रका पर्यटक बढी आउन थालेका छन् । तथ्याङ्क अनुसार, गत वर्ष एक लाखभन्दा बढी पर्यटकले शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्दा मन्दिर व्यवस्थापन समितिलाई एक करोड २२ लाखभन्दा बढी आम्दानी भएको थियो ।
१० करोड रुपियाँभन्दा बढी लगानीबाट धार्मिक महत्त्वका संरचना र १५० मिटर लामो सुरुङ निर्माण गरी सङ्ग्रहित गरिएका सवा लाख शालग्रामको दर्शनका लागि दैनिकजसो धार्मिक पर्यटकको सङ्ग्रहालयमा भीड लाग्ने गरेको छ ।
सुरुङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति बनाइएको छ ।