• ८ वैशाख २०८३, मङ्गलबार

नहर जीर्ण हुँदा किसान चिन्तित

blog

फलेवास समाचारदाता

पर्वत, वैशाख ८ गते । पर्वत जिल्लाको फलेवास नगरपालिका अन्तर्गत पर्ने ४० वर्ष पुरानो नहर जीर्ण बन्दा यहाँका किसान समस्यामा परेका छन् । नहर पुरानो भएसँगै खेतीयोग्य जमिनमा पानी नपुग्दा उत्पादन घट्दै गएको छ भने नहरको दिगो सुधार हुन सकेको छैन । नहर निकै पुरानो भइसकेको छ । मुख्य नहर मात्र नभई अधिकांश शाखा नहर पनि जीर्ण अवस्थामा छन् । कतै भत्किएका छन् भने कतै पहिरोले पूरै बन्द भएको छ । जसका कारण नहरबाट पानी खेतसम्म पुग्नै गाह्रो हुन्छ ।

२०४१ सालमा निर्माण भएपश्चात् नहर पूर्ण रूपमा मर्मत हुन सकेको छैन । नहरको लम्बाइ सात किलोमिटर छ । नहरलाई फलेवास शाखा र माटेदवल शाखा गरी दुई शाखामा विभाजन गरिएको छ । उक्त शाखा पनि एक/एक किलोमिटरका छन् । शाखा नहर पनि मर्मत नहुँदा जीर्ण अवस्थामा छन् । 

नहरमा बग्ने पानीको सतह बर्सेनि घट्दै जाँदा किसान समस्यामा परेका छन् । फलेवास देवीस्थानका ओमप्रसाद भुसालले भन्नुभयो, “नहरमा पानी नआउँदा धान रोप्नै गाह्रो भयो, आकाशे पानीकै भरमा खेती धान्नु परेको छ । सिँचाइ मर्मत नहुँदा पानी पाइँदैन, बाली पनि घट्दै गयो । कतिपय खेत त बाँझै राख्नुपर्ने अवस्था छ ।” हिउँद–बर्खा तिनै खेती गर्ने ठाउँमा नहर नबन्दा हिउँदमा त खेती गर्न नपाइएको यहाँका किसानले गुनासो गरेका छन् ।

नहरको समस्या झन् जटिल बन्नुको अर्को कारण बर्सेनि जाने पहिरो पनि हो । बर्खायाम सुरु भएसँगै नहरका विभिन्न स्थानमा पहिरो खस्ने र संरचना भत्किने क्रम दोहोरिने गरेको स्थानीय बताउँछन् । मर्मत गरिए पनि केही समयमै फेरि बिग्रने भत्किने भएकाले समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन । 

स्थानीय किसान पार्वती क्षेत्रीले भन्नुभयो, “पानीको भरपर्दो व्यवस्था नहुँदा खेतीपाती गर्न मुस्किल भयो, कतिपय बेला त खेत रोप्नै नपाई बाँझै राख्नु पर्छ । सरकारले समयमै राम्रोसँग बजेट दिएर नहर मर्मत गरिदिए हामीलाई दुःख हुने थिएन । अहिले त आफ्नै बलमा टालटुल गरेर खेती धान्नुपर्ने बाध्यता छ ।” 

पछिल्ला वर्षमा लमाय खोलाको मुहानमा पानीको सतह घट्दै जाँदा नहरमा पर्याप्त पानी आउन छाडेको हो । जलवायु परिवर्तन र वनक्षेत्रको ह्रासले पनि यसमा असर पारेको स्थानीयको बुझाइ छ । नहर सुधारका लागि बर्सेनि बजेट आउने भए पनि त्यो अत्यन्त न्यून हुने गरेको छ । 

फलेवास जल उपभोक्ता समितिका सचिव किशोर रेग्मीका अनुसार नहर मर्मतका लागि आवश्यक बजेट नहुँदा समस्या झन् जटिल बन्दै गएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नहर मर्मतका लागि ७० लाख रुपैयाँ बजेट आए पनि यस वर्ष घटेर १० लाख रुपियाँमा सीमित भएको उहाँको भनाइ छ । उहाँका अनुसार यस वर्ष आएको १० लाख रुपियाँबाट देवीस्थानस्थित नगर अस्पताल नजिकको शाखा नहरमा मेसिनरी वाल लगाउने तयारी गरिएको छ । रेग्मीका अनुसार नहरलाई दीर्घकालीन रूपमा सुधार गर्न कम्तीमा तीन करोड रुपियाँ आवश्यक पर्ने देखिएको छ ।