• ७ वैशाख २०८३, सोमबार

सप्तरीमा प्रभावकारी शिक्षण सिकाइ तालिम सुरु

blog

शिक्षण सुधारसम्बन्धी तालिममा सहभागी शिक्षकहरू । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख ७ गते ।
नेपाल प्याबसन सप्तरीले निजी विद्यालयका शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने “प्रभावकारी शिक्षण सिकाइ तालिम” सुरु गरेको छ । सरकारले विद्यालयहरूलाई पूर्वतयारीका विभिन्न कार्य अघि बढाउन निर्देशन दिएसँगै प्याबसनले उक्त तालिम सञ्चालन गरेको हो ।

सरकारले यस वर्षको नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्देशन दिएको छ । त्यसअघि वैशाख २ गतेदेखि देशभरका विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेको छ ।

यसअन्तर्गत विद्यालयहरूले शैक्षिक सत्रको समग्र कार्ययोजना निर्माण, वार्षिक कार्यतालिका तयार, विस्तृत शैक्षणिक योजना बनाउने, विद्यालय सुधार योजना अद्यावधिक गर्ने, शिक्षकहरूको पेशागत विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि रणनीतिक योजना बनाउने कार्य अनिवार्य गरिएको छ ।

वैशाख २१ गतेदेखि नियमित कक्षा सञ्चालन हुने जनाइएको छ । यही समयसीमालाई मध्यनजर गर्दै निजी विद्यालयहरूले पनि तयारी तीव्र बनाएका छन् ।

यसै क्रममा नेपाल प्याबसन सप्तरीले जिल्लाका विभिन्न निजी विद्यालयमा कार्यरत संस्थापक, प्रिन्सिपल, शिक्षक तथा शिक्षिकाहरूलाई सहभागी गराई आइतबारदेखि तालिम सञ्चालन गरेको हो । तालिममा आधुनिक शिक्षण विधि, कक्षाकोठा व्यवस्थापन, विद्यार्थीकेन्द्रित सिकाइ, मूल्याङ्कन प्रणाली तथा प्रविधिमैत्री शिक्षण अभ्यासबारे प्रशिक्षण दिइने प्रशिक्षक चुनचुन यादवले जानकारी दिनुभयो ।

तालिमको उद्घाटन गर्दै राजविराज नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत भोगेन्द्रप्रसाद यादवले बालबालिकालाई गुणस्तरीय, व्यवहारिक तथा समयसापेक्ष शिक्षा प्रदान गर्नु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुभयो । उहाँले बदलिँदो शैक्षिक आवश्यकताअनुसार शिक्षकहरूले शिक्षण शैलीमा सुधार र नवीनता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले अपेक्षा गरेको शैक्षिक सुधार हासिल गर्न निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ। सरकारले मात्र सबै बालबालिकालाई समेट्न सम्भव छैन। त्यसैले निजी विद्यालयहरूले पनि शिक्षण विधि, सीप र रणनीतिमा समयानुकूल परिवर्तन ल्याउनुपर्छ ।”

नेपाल प्याबसन सप्तरीका अध्यक्ष देवनाथ यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेशकुमार यादवले राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति उत्पादनमा शैक्षिक संस्थाहरूको भूमिका आधारभूत हुने बताउनुभयो । उहाँले शिक्षकहरूलाई समयसापेक्ष शिक्षण कला, प्रविधि र दक्षतामा सशक्त बनाउन यस्ता तालिम आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी नेपाल प्याबसनका महासचिव शम्भुप्रसाद यादवले परम्परागत शिक्षण पद्धतिबाट बाहिर निस्केर विद्यार्थीकेन्द्रित, वैज्ञानिक र व्यवहारिक सिकाइमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

तालिममा सहभागी शिक्षकहरूले यस्ता कार्यक्रमले शिक्षण शैली सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । शिक्षक जयप्रकाश यादवले कक्षाकोठामा प्रयोग गर्न सकिने नयाँ प्रविधि, सिकाइ विधि र मूल्याङ्कन प्रणालीबारे उपयोगी ज्ञान प्राप्त भएको बताउनुभयो ।

नेपाल प्याबसन सप्तरीका अनुसार तालिमले शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्दै आगामी शैक्षिक सत्रलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । केशव अनिरुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्रप्रसाद यादव प्रशिक्षक रहेको उक्त तालिममा ६० जना शिक्षक सहभागी छन् ।