सन्तोष दहित
दाङ, वैशाख ६ गते । दाङ लमही नगरपालिका-२, केरुनियास्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड आफ्नै भवनमा सरेसँगै तरकारीको बजारीकरणलाई थप व्यवस्थित बनाएको छ ।
वर्षौंदेखिको प्रयासपछि सहकारीले आफ्नै संरचना निर्माण गरी औपचारिक रूपमा तरकारी सङ्कलन तथा बिक्री वितरण कार्य सुरु गरेको हो।
हेफर इनटरनेसनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्रद्वारा सञ्चालित आइएएलभीसी परियोजनाको सहयोगमा सञ्चालनमा आएको सहकारीले दैनिक १४ टन तरकारी बिक्री गर्ने लक्ष्य राखेको समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड अध्यक्ष मन्जु चौधरीले जानकारी दिनुभयो ।
सहकारीले अब आफ्नै भवनबाट उत्पादित तरकारीको सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्ने व्यवस्था मिलाएको पछि किसानलाई सहज बजार पहुँच उपलब्ध गराउनमा सहयोग पुग्ने ग्रामीण महिला उत्थान केन्द्रको अध्यक्ष आसमानी चौधरीले बताउनुभयो ।
उहाँले महिलालाई आत्मनिर्भर बनाउने र स्थानीय किसानको जीवन स्तरलाई माथि उठाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । परियोजना अन्तर्गत दाङ र सल्यान जिल्लाका १० वटा सहकारीमा आबद्ध सदस्यहरूलाई व्यावसायिक रूपमा तरकारी उत्पादनतर्फ अभिप्रेरित गरिएको छ ।
यससँगै उद्यमशीलताको विकास गर्दै एकद्वार प्रणालीमार्फत उत्पादित तरकारी समुन्नति सहकारीकै तरकारी सङ्कलन तथा प्रशोधन केन्द्रमार्फत बिक्री गरिने जनाइएको छ ।
यस प्रणालीले किसानले उत्पादन गरेको तरकारी उचित मूल्यमा बिक्री हुने र बजारमा आपूर्ति व्यवस्थापन समेत प्रभावकारी हुने विश्वास लिइएको छ ।
सहकारीका पदाधिकारीका अनुसार यस पहलले ग्रामीण क्षेत्रमा महिला उद्यमशीलता प्रवर्धन गर्नुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नेछ। उत्पादनदेखि बजारसम्मको शृङ्खला व्यवस्थित हुँदा किसानको आय वृद्धि हुने र कृषि पेसा प्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।
सहकारी भवनको गृहप्रवेश कार्यक्रम ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी, हेफर इनटरनेसनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेशकुमार आचार्य, जिल्लास्थित अन्य उद्यमी सहकारीका अध्यक्षहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सहकारीका शेयर सदस्य तथा व्यापारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
सो अवसरमा सहकारीको औपचारिक रूपमा तरकारी बजारीकरण कार्यको शुभारम्भ समेत गरिएको थियो। सहकारीको आफ्नै भवनबाट सुरु गरिएको यो पहलले दाङ जिल्लामा कृषि व्यवसायको आधुनिकीकरण र बजार व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।