• ६ वैशाख २०८३, आइतबार

छेडाघाटका आगलागी पिडीत आफन्तको आश्रयमा, अस्थायी आवासको पहल गर्दै पालिका

blog

आगलागी पिडितलाई राहत प्रदान गर्दै गाउँपालिका अध्यक्ष । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्यूठान, वैशाख ६ गते । ऐरावती गाउँपालिका वडा नम्बर-१ छेडाघाटका आगलागी पिडीत परिवार नजिकैको छिमेकी र आफन्तसँग आश्रय लिएर बसेका छन् ।

गत चैत २१ गते राति भएको आगलागीबाट विस्थापित परिवार दुई सातादेखी छिमेकीको घर र आफन्तकोमा बस्दै आएका हुन् । आगलागीबाट नौ वटा परिवारको २२ घरगोठ खरानी भएको थियो ।

जसले गर्दा ४४ जना परिवारका सदस्य विस्थापित भएका हुन । उनीहरु अहिलेसम्म स्थानीय तह र विभिन्न सङ्घ संस्थाले दिएको राहत सामाग्रीको भरमा गुजारा चलाउदै आएका छन् ।

“पिडीत परिवारलाई विभिन्न निकायबाट राहत सहयोग भइरहेको छ,” वडा नम्वर १ का वडा अध्यक्ष अमर रेश्मीमगरले भन्नुभयो, “खाद्यान्न, लत्ताकपडा, नगद र शैक्षिक सामाग्रीहरु राहत स्वरुप पिडीत परिवारले पाएका छन ।” 

नजिकैका छिमेकी गाउँका स्थानीयले समेत पिडीत परिवारका लागि धान, गहुँ उपलब्ध गराएको वडा अध्यक्ष रेश्मी मगरले बताउनुभयो । ऐरावती गाउँपालिकाले पाँच जना भन्दा बढी सदस्य भएका परिवारलाई २७ हजार रुपियाँ र सो भन्दा कम सदस्य भएको परिवारलाई २५ हजार रुपियाँ राहत रकम उपलब्ध गराउने निर्णय गरि प्रक्रिया अघि बढाएको अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो । 

त्यसबाहेक अस्थायी आवास निर्माणका लागि पालिकाले ५० हजार रुपियाँ उपलब्ध गराउने समेत बताउनुभयो । पीडित परिवारको पुर्नस्थापना र जिविकोपार्जनका लागि प्रदेश र संघीय सरकारसँग समेत पहल गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैबीच, हेफर ईन्टरनेशनल नेपाल र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले दुई लाख ७० हजार रुपियाँ रकम राहत प्रदान गरेको छ । प्रति परिवार ३० हजारका दरले राहत प्रदान गरिएको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले बताउनुभयो । 

पिडित परिवारलाई हालसम्म गाउँपालिका, नेपाल रेडक्रस सोसाईटी, प्यूठान उद्योग वाणिज्य सङ्घ, राष्ट्रिय स्वतन्त्र पार्टी, जी २५ क्लव बुटवल, रोटरी क्लव लगायतले राहत प्रदान गरेका छन । आगलागीबाट २२ घरगोठ जलेर नष्ट भएका थिए । आगलागीबाट ९५ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ ।