विष्णुप्रसाद पोखरेल
दमक, वैशाख ६ गते । झापाकी युवा नेतृ नीता घतानी नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट समानुपातिक सूचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएको छ । पछिल्लो समय राजनीतिमा युवाको भूमिका र नेतृत्वबारे बहस तीव्र भइरहेका बेला दलित, महिला र युवाको प्रतिनिधित्व हुने गरी घतानी प्रतिनिधि सभा सदस्य बन्नुभएको छ ।
इलाममा जन्मिएर झापाको बिर्तामोडलाई कर्मथलो बनाउनुभएकी ३७ वर्षीय युवा नेतृ घतानी विद्यार्थी राजनीतिबाट आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल बन्नुभएको थियो । कम्युनिस्ट विचारधाराबाट प्रभावित परिवारमा हुर्कनुभएकी उहाँले २०६७ सालमा एमालेको वडा कमिटीमार्फत सङ्गठित राजनीति सुरु गर्नुभएको थियो ।
२०७२ सालमा बिर्तामोड नगर कमिटी सदस्य बनेपछि उहाँले आफ्नो राजनीतिक सव्रिmयता थप विस्तार गर्नुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा दलित महिला सदस्य तथा कार्यपालिका सदस्यका रूपमा निर्वाचित उहाँले स्थानीय तहको जनप्रतिनिधिको भूमिका निर्वाह गरिसक्नुभएको छ ।
उहाँ स्थानीय तहमा दलित महिला सदस्यको अनुभव सँगालेर अहिले प्रतिनिधि सभा सदस्यको जिम्मेवारीमा पुग्नुभएको छ । उहाँले स्थानीय जनताका अपेक्षा, समस्या र गुनासा नजिकबाट सुन्नुभएको छ । स्थानीय सरकार सञ्चालनको थोरै भए पनि अनुभव सँगाल्दा केही न केही सिक्ने मौका पाएको उहाँ बताउनु हुन्छ ।
घतानीको राजनीतिक यात्रा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (नेरास्ववियु) बाट सुरु भएको हो । विद्यार्थी जीवनमै वैचारिक स्पष्टता र सङ्गठनात्मक क्षमताका कारण उहाँ पार्टीमा छिटो चिनिनुभएको र भूमिकामा आउनुभएको हो । क्याम्पसदेखि नै विद्यार्थीका हकहितका लागि सव्रिmय रहँदै आउनुभएको थियो । राजनीतिलाई शक्ति प्राप्तिको माध्यमभन्दा समाज परिवर्तनको औजारका रूपमा लिने दृष्टिकोणले फरक रूपमा उहाँलाई स्थापित गराउन सहयोग पुगेको बताइन्छ । महिला सशक्तीकरण, सामाजिक न्याय र स्थानीय विकास जस्ता विषयमा आफू सधँै निरन्तर लाग्ने उहाँ बताउनुहुन्छ ।
प्रतिनिधि सभा सदस्य नहुँदा पनि म जनताको घरदैलोमा सधैँ थिए र अब फरक भूमिका रहन्छु, उहाँले भन्नुभयो । विशेष गरी पछाडि पारिएका समुदायका महिलाको आवाज नीतिगत तहसम्म पु¥याउन लागि पर्ने उहाँ बताउनुहुन्छ । हिजो सडकमा आवाज उठाउँथ्यौँ अब सदनमा आवाज उठाउने ठाउँमा पुगेको उहाँ जनाउनुहुन्छ ।
उहाँले भन्नुभयो, “उत्पीडित वर्गको अधिकारका लागि निरन्तर पैरवी गर्दै आएको थिएँ र अब झन् सशक्त रूपमा यस विषयलाई उठाउने ठाउँमा पुगेको छु ।” विद्यार्थी राजनीतिको अनुभव र सामाजिक सव्रिmयतालाई आधार बनाएर राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाउने उहाँको विश्वास छ ।
मुख्य रूपमा शिक्षा क्षेत्रका विसङ्गति र विभेदविरुद्ध आवाज उठाउने योजना घतानीको रहेको छ । नेपाल सरकारले संविधानमार्फत प्रत्याभूत गरेको दलित समुदायका लागि कक्षा १२ सम्मको निःशुल्क शिक्षाको व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सामुदायिक विद्यालयभित्रै प्राविधिक शिक्षाका नाममा देखिएको विभेदप्रति उहाँको चिन्ता छ । एउटै विद्यालयभित्र ‘प्राविधिक’ र ‘साधारण’ शिक्षा भन्दै विद्यार्थीबिच हुने असमान व्यवहार अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । विद्यार्थी केन्द्रित राजनीति गरेकाले उहाँले विद्यार्थीको पीडा नजिकबाट बुझ्नुभएको छ । वडा र बस्तीका समस्यालाई राष्ट्रियस्तरमा उठाउने अठोट उहाँको छ ।