शशिधर पराजुली
विराटनगर, वैशाख ५ गते । सरकारले सीमा नाकामा राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकाबाट नेपाली उपभोक्तालाई आवश्यकताको सामान ल्याउन गाह्रो छैन । त्यही भएर नेपाली ग्राहकको घुइँचो लाग्नेगरेको छ ।
झापाको गौरीगञ्ज, मोरङको बरडंगा, रंगेली आदि क्षेत्र छोटी भन्सार क्षेत्र र नाकातिर सशस्त्र प्रहरी र भन्सार प्रशासनले १०० रुपियाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने उर्दी जारी गरेका छन् । उनीहरुले दिनहुँजसो माइकिङ गरेर उपभोक्तालाई सचेत बनाइरहेका छन् ।
नेपाली बजारको चरम महँगीले आहात भएका उपभोक्ताहरू सरकारी निर्देशनलाई चुनौती दिँदै भारतीय बजार जोगबनीतिर ओइरिनेक्रम रोकिएको छैन । विराटनगरको बजारको तुलनामा सीमापारीको जोगबनीमा नेपाली उपभोक्ताको चाप बढी छ ।
नेपाली र भारतीय बजारबिचको मूल्यमा हुने अन्तरका कारण उपभोक्ताहरु जोखिम लिएरै सीमावर्ती भारतीय बजार पुग्ने गरेका छन् । ग्रामीण क्षेत्रको छोटी भन्सार नाकामाजस्तो विराटनगरको रानी नाकामा सुरक्षाकर्मीले त्यति धेरै कडाइ पनि गरेको छैन ।
दैनिक उपभोग्यवस्तु चिनी, तेल र दालदेखि लत्ता कपडासम्मको मूल्यमा जोगबनी र विराटनगरबिच अन्तर छ । जसका कारण उपभोक्ताहरु सीमावर्ती बजार नै पुग्ने गरेका छन् ।
नेपाली बजारको तुलनामा जोगबनीमा खानेतेल प्रतिलिटर झन्डै १०० रुपियाँ सस्तो पर्छ भने चिनीमा प्रतिकिलो ३० रुपियाँसम्म बचत हुन्छ । महँगीले आजित भएका उपभोक्ताका लागि यो बचत ठुलो राहत हुने भएका कारण जोगवनीमा भिड लागेको हो ।
राजस्व चुहावट रोक्ने भन्दै गृह मन्त्रालयको निर्देशनमा मोरङ प्रशासनले नाकामा कडाइ गरेको बताएको छ । तर व्यवहारमा त्यसको प्रभाव परेको छैन । मोरङका स्थानीय व्यवसायीहरू आफ्नो व्यापार सुकेको भन्दै नाकामा कडाइ गर्न आग्रह गरिरहेका छन् । आम उपभोक्ताले भने जोगबनी जानु बाध्यता भएको बताउँछन् ।
नाकामा भेटिनुभएका मोरङका उपभोक्ता प्रदीप ढकाल सरकारी नीतिको आलोचना गर्दै भन्नुहुन्छ, ‘नेपालमा सामानको मूल्य सोध्यो भने आकाश छुन्छ, जोगबनीमा सस्तो पाइने भएपछि विदाको दिन पारेर यतै आउँछौं, यो हाम्रो बाध्यता हो ।’
ग्रामीण क्षेत्रका छोटी भन्सार नाकामा सशस्त्र प्रहरीले १०० रुपियाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्न माइकिङ गरिरहेको देखिन्छ । सामाजिक सञ्जालमा यस्ता भिडियोहरू भाइरल भए पनि मूख्य नाका रानीमा भने अवस्था उस्तै छ । इटहरी र सोभन्दा टाढाका सहरबाट पनि दैनिक हजारौँ उपभोक्ता जोगबनी पुगिरहेका छन् ।
मोरङ उद्योग व्यापार संघको अध्ययनअनुसार हरेक दिन विराटनगर हुँदै जोगबनी पुग्ने नेपालीले कम्तिमा ५ करोड रुपियाँ बराबरको किनमेल गरेर नेपाली मुद्रा भारत लैजाने गरेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले नाकामा कडाइ गरिएको बताउनुभयो । उहाँले घरायसी सामान ल्याउने र व्यावसायिक प्रयोजनका लागि ल्याउनेलाई छुट्याएर हेर्न भन्सारलाई निर्देशन दिइएको बताउनुभयो ।
पछिल्लो समय प्रहरी र सशस्त्र प्रहरीले व्यावसायिक रूपमा हुने तस्करी र ‘क्यारिङ’ लाई रोक्न बरामद गर्नेक्रम बढाएको छ । अवैध आयात पूर्ण रूपमा रोकिएको भने छैन ।
सुरक्षाकर्मीले पेशेवर झोले व्यापारीहरुलाई रोक्ने प्रयास गरको छ । सर्वसाधारण उपभोक्तालाई भने सहजै छाड्ने गरेका कारण पटक पटक सरकारले सीमामा कडाइ गर्न खोज्दा पनि कार्यान्वयन पक्ष कमजोर नै बनिरहेको देखिन्छ ।