• ५ वैशाख २०८३, शनिबार

शिवराज अस्पतालमा ३८ लाख रकम गायब

blog

शिवराज आधारभूत अस्पताल । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, वैशाख ५ गते । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । 

शिवराज नगरपालिकाको आन्तरिक लेखा परीक्षणका क्रममा आर्थिक वर्ष ०८१/८२ मा बैङ्क दाखिला गरिएका भनिएका १२८ भौचरका रकम खातामा नभेटिए पछि घटना सार्वजनिक भएको हो ।  

आधारभूत स्वास्थ्य सेवा अस्पतालको नेपाल बैङ्क लिमिटेड चन्द्रौटा शाखामा रहेको खाता नम्बर २२८००१०६९४६१३००००००१ जम्मा गरिएको भौचरको रकम खातामा फेला नपरे पछि हिनामिना भएको आशङ्का गरिएको छ ।

रकम हराए पछि शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले शुक्रबार घटनाको विषयमा अनुसन्धान गर्नका लागी वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्राचार गर्नुभएको थियो ।


उहाँले रकम हिनामिना र किर्ते भौचर सम्बन्धमा अनुसन्धानको लागी उजुरी दिनुभएको थियो । रकम हराएको विषयमा छानबिन गरी दोषी माथि कानुनी कारबाहीको लागी अनुरोध गर्नुभएको थियो । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले घटनाको विषयमा नगरपालिकाले पत्राचार गरेको र अनुसन्धानको चरणमा रहेको बताउनुभयो ।

नगरपालिकाको पत्रअनुसार अस्पतालले पेस गरेको भौचर नक्कली भएको कारणले खातामा रकम जम्मा नभएको बैङ्क मार्फत मौखिक जानकारी आएको जनाएको छ । तर अस्पतालका प्रशासनले भने उक्त रकम बैङ्कमा बुझाइएको र बैङ्कबाट प्राप्त भौचर रहेको जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रहेका वडा अध्यक्ष नेत्र बेल्वासेले जम्मा नभएका भौचरका रकमको विवरण बारे जानकारी लिन बैङ्कलाई पत्राचार गरिएको बताउनुभयो । 

हिनामिना भएको रकमको प्रहरी मार्फत अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने उहाँको भनाई रहेको थियो ।