• ५ वैशाख २०८३, शनिबार

माग घटेपछि बुलेटमै थन्कियो ग्यास

blog

काठमाडौँ, वैशाख ५ गते । आधा सिलिन्डर बिक्री गर्ने सरकारी निर्णय र बिजुलीमा खाना पकाउने प्रवृत्ति बढ्दा ग्यास उद्योगमा सिलिन्डर थन्किन थालेका छन् । अर्कोतिर बजारमा पहिले नै धेरै सिलिन्डर गइसकेकाले बुलेटबाट ग्यास ‘रिफिल’ गर्न नपाएको उद्योगीले जनाएका छन् । 

आधा तौल (७.१ केजी) को सिलिन्डर भर्न थालेपछि सिलिन्डर कम भएर ग्यास बुलेटमा थन्किन थालेका हो । ग्यास आपूर्ति नियमित हुन थालेपछि आयात पनि घटेको छ । नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा बजारमा मासिक ४५ हजारदेखि ४८ हजार मेट्रिक ग्यासको माग रहेकोमा १५ दिनको अवधिमा बजारमा १८ हजार मेट्रिक टन मात्र ग्यास आयात भएको छ ।

बजारमा ग्यासको अभाव हुन थालेपछि आपूर्ति व्यवस्था सहज पार्न निगमले २८ फागुनदेखि आधा तौलको सिलिन्डर वितरण गर्न उद्योगीलाई निर्देशन दिएको थियो । 

नेपाल एलपी ग्यास उद्योग सङ्घले आधा तौलको सिलिन्डर वितरण गर्दा खाली सिलिन्डर अभाव भएको र ढुवानी लागतसमेत बढेकाले पूरै सिलिन्डर भरेर बिक्रीवितरण गर्ने व्यवस्था गरिदिन निगमसँग अनुरोध गरेको छ ।

सङ्घले आधा सिलिन्डर ग्यास भरेर बजारमा पठाउँदा सिलिन्डर सबै खपत भएको र ग्यास खपत पनि कम हुँदा बुलेट र कम्पनीमा ग्यास होल्ड गर्नुपर्दा व्यवसायीलाई समस्या परेको जनाएको छ । 

सङ्घका अध्यक्ष दिवान चन्दले आधा तौलको सिलिन्डर वितरण गर्दा ग्यास रिफिलिङ गर्न नसक्दा बुलेटमा ग्यास ‘होल्ड’ भएको जानकारी दिनुभयो । “अहिले बजारमा ग्यासको खपत ५० प्रतिशतले घटेको छ,” उहाँले भन्नुभयो, “रिफिलिङ गर्ने खाली सिलिन्डर नहुँदा बुलेटमा ग्यास मौज्दात राख्न परेको छ ।” इन्धनको मूल्य बढेको र ग्यास ढुवानी लागतसमेत बढेकाले तत्कालका लागि पूरै सिलिन्डर वितरण गर्न निगमसँग अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

पूरै तौल भएको एक गाडी ग्यास ढुवानी गर्दा २० हजार रुपियाँ ढुवानी भाडा लाग्ने गरेकोमा आधा तौलको ढुवानी गर्न पनि त्यति नै लागत लाग्दा व्यवसायीलाई आर्थिक भार बढेको उहाँको भनाइ छ । सङ्घका अनुसार अहिले कम्पनीमा १२ हजारदेखि १३ हजार मेट्रिक टन र साढे तीन सय बुलेटमा ग्यास मौज्दात रहेको छ । एक बुलेटमा १८ मेट्रिक टन हुने गर्छ । 

कम्पनीमा भएका ग्यास भरेर सकिएको र भर्ने ठाउँ नभएकाले ग्यास होल्ड गरेर राख्दा केही समयपछि ग्यास आयात गर्ने बुलेट नै नहुने देखिएको उहाँको भनाइ छ ।

निगमका अनुसार सामान्य अवस्थामा दैनिक ७५ देखि ८० बुलेट ग्यास आउने गरेकोमा अभाव भएको समयमा दैनिक एक सयदेखि १२० वटासम्म बुलेट आयात भएको थियो । निगमका प्रवक्ता मनोज ठाकुरले बजारमा ग्यासको खपत घट्दा आयातमा समेत कमी भएको जानकारी दिनुभयो । “पश्चिम युद्ध जारी भइरहेकाले अन्तर्राष्ट्रिय परिस्थिति हेर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “निर्णय गरेर फिर्ता गर्ने कुरा नभएकाले तत्काल पूरा सिलिन्डर दिन सक्ने अवस्था छैन ।’’ 

ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले आधा तौलको सिलिन्डर वितरण गर्दा उपभोक्तासँग ग्यास होल्ड भएको र बुलेट पनि भरी भएकाले १४.२ केजीको ग्यास वितरण गर्नुपर्ने देखिएको उहाँको भनाइ छ । निगमका अनुसार एक करोड ४२ लाख ग्यास सिलिन्डर बजारमा छन् । 

बजारमा आधा तौलको सिलिन्डरको मूल्य एक हजार पाँच रुपियाँ रहेको छ । पूर्ण तौलको सिलिन्डरको दुई हजार १० रुपियाँ रहेको छ ।