• ५ वैशाख २०८३, शनिबार

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथन उपाधि

blog

म्याराथन उपाधि विजेता खेलाडी ।

काठमाडौँ, वैशाख ५ गते । त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जित्नुभएको छ । 

पुरुषतर्फ राजनले कान्तिपुर हाफ म्याराथन जितेको पहिलो पटक हो भने महिलातर्फ सन्तोषीले लगातार दोस्रो पटक जित्नुभएको हो ।

कान्तिपुर मिडिया ग्रुपको आयोजनामा ‘रन फर नेपाल’ नारासहित शनिबार भएको १४औं संस्करणको उद्घाटन दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र चार पटक ओलम्पिकमा सहभागिता जनाउनुभएका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले गर्नुभएको थियो । राजनले १ घन्टा ४.०३ मिनेटमा दौड पुरा गर्नुभयो । 

शीर्ष ३ मा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रहयो । अर्जुन बुढा १ घन्टा ६.०४ मिनेटका साथ दोस्रो र सुशील शाही १ घन्टा ६.५ सेकेन्डका साथ तेस्रो हुनुभयो । काठमाडौँका तीर्थ पुन १ घन्टा ७.४२ मिनेटका साथ चौथो, आर्मीकै सञ्जय श्रेष्ठ १ घन्टा ८.०२ मिनेटका साथ पाँचौँ र आर्मीकै नरेन्द्र राउत १ घन्टा ९ मिनेट ०३ सेकेन्डका साथ छैटौँ हुनुभयो । 

महिलामा सन्तोषीले १ घन्टा १८.११ मिनेटमा पुरा गरेर विजेता बन्नुभएको हो । उहाँले गत वर्ष १ घन्टा २३.२८ मिनेटमा दौड पुरा गर्नुभएको थियो । पुरुष र महिलातर्फको विजेतालाई १ लाख ५० हजार रुपियाँ र ट्रफी प्रदान गरियो । 

आर्मीकी निशा पाल १ घन्टा १८.२६ मिनेटका साथ दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपाने १ घन्टा २३.१३ सेकेन्डका साथ तेस्रो हुनुभयो । आर्मीकी निर्मला केसी १ घन्टा २५.५४ मिनेटका साथ चौथो, एपीएफकी फुलमती राना १ घन्टा २८.४३ मिनेटका साथ पाँचौँ र सोनसरी रोकाया १ घन्टा ३२.०३ सेकेन्डका साथ छैटौँ हुनुभयो । 

हाफ म्याराथनतर्फ दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार रुपियाँ पुरस्कार पाए  । प्रतियोगितामा हाफ म्याराथनबाहेक कर्पाेरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा भएको थियो । कान्तिपुर हाफ म्याराथनमा अहिलेसम्मकै सबैभन्दा बढि ४ हजार धावकले सहभागिता जनाएका थिए ।