• ६ वैशाख २०८३, आइतबार

आमाको नामबाट दुई दाजुभाइले लिए नागरिकता

blog

आमाको नामबाट नागरिकता प्राप्त गर्ने दाजुभाइ ।

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ६ गते ।
ताप्लेजुङमा दुई दाजुभाइले आमाको नामबाट नागरिकता लिएका छन् । जिल्लाको सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनका एकै आमाको कोखबाट जन्मिएका दुई दाजुभाइले आमाको नामबाट नागरिकता लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार याम्फुदिनका १९ वर्षीय देउकुमार राई र १७ वर्षीय मेहरमान राईले आमाको नामबाट नागरिकता लिनुभएको छ । बाबुको पहिचान नभएको राई दाजुभाइको नागरिकता आमा भोटेनी राईको नामबाट जारी भएको जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका नायबसुब्बा दुर्गादेवी पौडेलले जानकारी दिनुभयो ।

आमा अपाङ्ग (बोली नआउने) भएको र अपाङ्गताकै कारण आमाले स्पष्ट विवरण दिन नसक्दा बाबुको पहिचान हुन नसकेको बताइएको छ । बाबुको पहिचान नभएपछि आमाको नाम र थरबाट प्रशासन कार्यालयले दुई छोराको नागरिकता जारी गरिदिएको नासु पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार चालु आर्थिक वर्षमा आमाको नामबाट पहिलोपटक नागरिकता जारी भएको हो । नेपाली नागरिकता संशोधन विधेयक २०६३ को व्यवस्था अनुसार आमाको नामबाट दाजुभाइलाई वंशजको नागरिकता प्रदान गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । नागरिकता ऐनमा बाबुको नाम खुलाउन नसकेको भनी आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको भनी वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

यता याम्फुदिनका वडाध्यक्ष कृष्णकुमार गुरुङका अनुसार बाबु पहिचान नभएको एउटै आमाको कोखबाट जन्मिएका दाजुभाइले लामो प्रयासपछि आमाको नामबाट नागरिकता प्राप्त गरेका हुन् । वडाध्यक्ष गुरुङका अनुसार आमाको नामबाट नागरिकता प्राप्त गरेको दाजुभाइ नै सुस्त मनिस्थतिका रहेका छन् । याम्फुदिनका पूर्ववडाध्यक्ष टसी लामाले आफ्नो कार्यकालदेखि नै उहाँहरूको नागरिकता बनाउने पहल भएको जानकारी दिनुभयो ।