• ६ वैशाख २०८३, आइतबार

पुलहाश्रम धार्मिक पर्यटनका लागि नयाँ गन्तव्य बन्दै

blog

पुलहाश्रम क्षेत्रमा निर्माण गरिएको रावण पार्क र पुलहाश्रम मन्दिर । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, वैशाख ६ गते । म्याग्दीको बेनी नगरपालिका–५ स्थित पुलहाश्रम धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । पौराणिक महत्त्व बोकेको यस क्षेत्रमा पूर्वाधार निर्माण, प्रचार–प्रसार र हालै अक्षरधामका प्रमुखसहित भारतीय भक्तजनको भ्रमण भएपछि धार्मिक पर्यटनको सम्भावना थप बलियो बनेको हो ।  

भारतीय हिन्दु पर्यटकलाई आकर्षित गर्दै पुलहाश्रम क्षेत्र धार्मिक आस्थाको केन्द्र बन्नसक्ने अपेक्षा गरिएको छ । पौराणिक स्थलका रूपमा परिचित पुलह र पौलस्त्य ऋषिको तपोभूमि मानिने यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचार–प्रसारका कारण पछिल्लो समय भारतीय धार्मिक पर्यटक समेत आउन थालेका छन् । 

हालै मात्र संसारकै विशाल हिन्दु मन्दिर अक्षरधामका प्रमुख मुनीवत्सल स्वामीसहित भारतीय भक्तजनहरूले पुलहाश्रमको भ्रमण गर्नुभएको छ । भ्रमणले यस क्षेत्रको प्रचार–प्रसार भारतमा समेत हुने र आगामी दिनमा भारतीय धार्मिक पर्यटकहरूको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘अक्षरधामका प्रमुख मनीवत्सल स्वामीसहित भारतीय धार्मिक व्यक्तिहरु पुलस्त्यपुलहाश्रम क्षेत्रका बारेमा अध्ययन र धार्मिक महत्त्वका बारेमा जानकारी लिन आउनुभएको थियो । भारतीय हिन्दुहरूमा समेत यहाँको बारेमा जानकारी रहेछ । उहाँहरूले यस क्षेत्रको धार्मिक महत्त्वका बारेमा खोज अनुशन्धान गर्ने र धार्मिक संरचनाहरू निर्माण गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।’’ 

अवलोकनका क्रममा अक्षरधामका प्रमुख स्वामीले यस क्षेत्र विश्वभरका हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताउनुभएको थियो । उहाँले भारतमा रहेको अक्षरधाम र यस क्षेत्रलाई जोड्न सकिने विचार व्यक्त गर्नुभयो । 

यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले बेनी नगरपालिकाले पुलहाश्रम नजिक रावण पार्क निर्माण गरेको छ । गलेश्वरधामदेखि नजिक रहेको पुलहाश्रम क्षेत्रमा भारतीय हिन्दु पर्यटकलाई आकर्षित गर्न सकेमा यहाँ बर्षेनि हजारौं पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले भविष्यमा पौलस्त्य र पुलह ऋषिको मूर्ति सहित ऋषि पार्क निर्माण गर्ने योजना रहेको बेनी नगरपालिका प्रमुख केसीले बताउनुभयो । 

भारतीय हिन्दु भक्तजनको भ्रमण तथा अवलोकनले यस क्षेत्रको प्रचार–प्रसार भारतमा समेत भएकाले आगामी दिनमा यहाँको धार्मिक महत्त्व बढेर जाने विश्वास गरिएको पौलस्त्य पुलह क्षेत्र विकास कोषका अध्यक्ष लीलाबहादुर बानियाँले बताउनुभयो । यहाँ पुलह, पुलस्त्य, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता रहेको अध्यक्ष बानियाँको भनाइ छ । 

पुलहाश्रममा विगत दस वर्षदेखि यता सरकारी निकाय र चन्दा सहयोग जुटाएर करिब साढे दुई करोड रुपियाँभन्दा बढी लगानीमा धार्मिक संरचनाहरू निर्माण भएका छन् । मन्दिर परिसरमा प्रतीक्षालय, प्रवेशद्धार, पदमार्ग, घेरावार लगायतका पूर्वाधार निर्माण भएका छन् । 

बेनी नगरपालिकाले यस क्षेत्रलाई मुख्य धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले यहाँ रावण पार्क निर्माण गरी रावणको मूर्ति समेत राखिसकेको छ । अदालतको फैसला अनुसार रावण पार्कको नाम परिवर्तन गरेर पौलस्त्य पार्क नामकरण गरी पौलस्त्य र पुलह ऋषिको ठुलो मूर्ति समेत राख्ने योजना रहेको बेनी नगरपालिका प्रमुख केसीले बताउनुभयो । 

धार्मिक संरचना निर्माण र देश विदेशमा प्रचार–प्रसार गरेर मुक्तिनाथ दर्शनका लागि जाने धार्मिक पर्यटकलाई यहाँ ल्याउन सकिने उहाँको भनाइ छ । गलेश्वरधामदेखि नजिक रहेको पुलस्त्यपुलह क्षेत्रमा भारतीय हिन्दु पर्यटकलाई आकर्षित गर्न सकेमा यहाँ बर्सेनि हजारौं पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । 

पुलहाश्रम क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरीलगायत मनोरम हिमशृङ्खलाका साथै चर्चित धार्मिक स्थल पञ्चकोट, ज्यामरुकोट, बेनी बजारसँगै कालीगण्डकी नदी र आसपासका दर्जनौँ गाउँबस्तीहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । 

पुलहाश्रम सदरमुकाम बेनीदेखि पश्चिम–उत्तरमा समुन्द्री सतहबाट १ हजार ५ सय ३० मिटरको उचाइमा छ । यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । पुलह, पौलस्त्य र भरत ऋषिले पछैमा तपस्या गरेको श्रीमद्भागवत् महापुराणको पञ्चमस्कन्ध आठौं अध्यायमा उल्लेख गरिएको छ ।  

बेनी बजारबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि पुलहाश्रम पुग्न सकिन्छ । बेनी अर्थङ्गे, बाँसबोट, एकपाटे हुँदै पुरुण्डीसम्मको सडक कालोपत्रे भएको छ । पुरुण्डीबाट करिब दुई किलोमिटर कच्ची सडकको यात्रापछि यहाँ पुग्न सकिन्छ ।