• ६ वैशाख २०८३, आइतबार

सञ्चार जगतको स्वतन्त्रतासँगै जवाफदेहिता आवश्यक

सञ्चार क्षेत्र मर्यादित र जिम्मेवार बन्नुपर्छ : मन्त्री तिमिल्सिना

blog

नुवाकोटको विदुर नगरपालिका–४, बट्टारमा आइतबार आयोजित कार्यक्रममा धारणा राख्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना । तस्बिर : सञ्चारमन्त्रीको निजी सचिवालय

नुवाकोट, वैशाख ६  गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाको पछि नलागी जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आग्रह गर्नुभएको छ ।

नुवाकोटको विदुर नगरपालिका–४, बट्टारमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै मन्त्री तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष भए पनि यसको नाममा भ्रामक सामग्री फैलाउनु न्यायोचित नहुने स्पष्ट पार्नुभयो । उहाँले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्मअनुशासन र पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्नेमा जोड दिनुभयो ।

“सरकार सबै समस्याको समाधान कानुनी कारबाहीबाट मात्र खोज्ने पक्षमा छैन,” मन्त्री तिमिल्सिनाले भन्नुभयो, “सञ्चार क्षेत्र स्वयं अनुशासित र जिम्मेवार बन्नु आजको आवश्यकता हो ।” उहाँले सञ्चारमाध्यमले प्रवाह गर्ने हरेक समाचारले समाजमा पार्ने प्रभावका बारेमा गम्भीर विश्लेषण हुनुपर्ने उल्लेख गर्दै भ्रामक सूचनाले समाजलाई अपूरणीय क्षति पुर्‍याउन सक्नेप्रति सचेत गराउनुभयो ।

सरकारी विज्ञापन र सूचना प्रकाशनमा पारदर्शिता कायम गर्न सरकारले नयाँ नीति कार्यान्वयनमा ल्याएको जानकारी दिनुहुँदै मन्त्री तिमिल्सिनाले सरकारी सूचनाहरू सरकारी सञ्चार माध्यममार्फत प्रवाह गर्ने व्यवस्था पारदर्शिताकै एक कडी भएको बताउनुभयो । सञ्चार क्षेत्रमा रहेका अनियमितता हटाउन सरकार दृढतापूर्वक अघि बढेको उहाँको भनाइ थियो ।

श्रमजीवी पत्रकारहरूको हकहित र संरक्षणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले तथ्यमा आधारित र समाधानमुखी पत्रकारिताले मात्रै समाजको सही चित्रण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार अफवाहमा होइन, नीति र नतिजामा विश्वास गर्छ । नागरिक र सञ्चार जगतले सत्यमा आधारित भएर खबरदारी गरेमा मात्र सरकार थप जवाफदेही बन्न सक्छ ।”

नयाँ सरकार गठन भएको छोटो समयमै सुशासन, सेवा प्रवाहमा सुधार र विकासलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको दाबी गर्दै मन्त्री तिमिल्सिनाले विगतका कमजोरी सुधार्दै परिणाममुखि नतिजा निकाल्ने लक्ष्य लिइएको बताउनुभयो । प्रविधिको अधिकतम प्रयोगमार्फत सार्वजनिक सेवालाई सहज बनाउने र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने दिशामा सरकार क्रियाशील रहेको उहाँले उल्लेख गर्नुभयो ।