राधा लुइटेल
फिदिम, वैशाख ६ गते ।पाँचथरको फिदिम नगरपालिका वडा नम्वर १ र ११ लाई जोड्ने फेमे खोलामा बेलिब्रिज सञ्चालनमा आएको छ ।
पाँचथर सदरमुकाम फिदिमदेखि भारतको पश्चिम बङ्गालसम्म सडक सञ्जाल जोड्ने फिदिम–फालोट सडक खण्डको फेमे खोलाको पक्की पुल २०८१ असोज १२ गते बाढीले बगाएपछि १९ महिना लगाएर निर्माण गरिएको हो ।
यहाँ आइतबारदेखि बेलिब्रिज सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय पाँचथरका सूचना अधिकारी मुकेशराज साहले जानकारी दिनुभयो ।
फिदिम नगरपालिका–१ र ११ लाई जोड्ने उक्त बेलिब्रिज कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, पाँचथरको अगुवाइमा निर्माण गरिएको हो ।
पुल निर्माणमा एक करोड ३९ लाख ८२ हजार ५६२ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । पुल एस एस सुनगाभा नामक निर्माण कम्पनीले ठेक्का सम्झौता गरी निर्माण गरेको हो ।
५० मिटर लामो उक्त बेलिब्रिज काबेली खोलाबाट ल्याएर ‘पुस एन्ड पुल’ प्रविधिबाट जडान गरिएको हो । बेलिब्रिज जडानका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, यातायात व्यवसायी तथा निर्माण कम्पनीले निरन्तर समन्वय र सहजीकरण गरेका थिए ।
यसअघि सो स्थानमा रहेको पक्की पुल २०८१ असोज १२ गतेको बाढीले बगाएपछि सवारी आवागमन प्रभावित हुँदै आएको थियो । नयाँ बेलिब्रिज सञ्चालनमा आएसँगै विशेषगरी वर्षायाममा हुने सवारी अवरोधको समस्या समाधान हुने विश्वास गरिएको छ ।