• ६ वैशाख २०८३, आइतबार

गर्मी बढेसँगै उखुको जुस व्यवसाय फस्टाउँदै

blog

गौशाला बजारमा उखुको जुस बेच्दै । तस्बीर : अजय शाह

अजय शाह 

गौशाला (महोत्तरी), वैशाख ६ । तराई–मधेश क्षेत्रमा गर्मी बढ्दै जाँदा महोत्तरीमा उखुको जुसको व्यवसाय फस्टाउन थालेको छ। तापक्रम वृद्धि भएसँगै बजारमा उखुको जुस पिउने उपभोक्ताको भिड उल्लेख्य रूपमा बढेको छ।

बढ्दो मागले उखु उत्पादक किसान मात्र होइन, साना व्यवसायीहरू पनि उत्साहित भएका छन्। गौशाला बजारमा हाते मेसिनमार्फत जुस बनाउँदै जीविकोपार्जन गर्ने व्यवसायीहरूको आम्दानीमा समेत सुधार देखिएको छ।

गौशालामा विगत ५–६ वर्षदेखि उखु पेलेर जुस बेच्दै आउनुभएका रमेश महतोका अनुसार पछिल्ला दिनमा बिहानैदेखि उपभोक्ताको चाप बढ्न थालेको छ।

उहाँ भन्नुहुन्छ, “अहिले त बिहान सबेरैदेखि नै जुस पिउन आउनेको भिड लाग्न थालेको छ।”उहाँले यो व्यवसायबाट प्रत्येक सिजनमा खर्च काटेर करिब ७० हजारदेखि ९० हजार रुपियाँसम्म बचत हुँदै आएको बताउनुभयो। वैदेशिक रोजगारीभन्दा आफ्नै ठाउँमा सानो व्यवसायबाट पनि राम्रो जीविकोपार्जन सम्भव रहेको उहाँ उदाहरण बन्नुभएको छ।

त्यस्तै, अर्का जुस व्यवसायी सोनफी साह पनि यस व्यवसायबाट सन्तुष्ट देखिनुहुन्छ। उहाँ भन्नुहुन्छ, “यो व्यवसायले घरपरिवार धान्न मात्र होइन, यही आम्दानीबाट तीन जना छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन सकेको छु।”

गौशाला नगरपालिकाभित्र मात्रै हाते मेसिनबाट उखु पेलेर जुस बेच्ने व्यवसायीहरूको सङ्ख्या १० जना भन्दा बढी रहेको अनुमान गरिएको छ।

हाल एक गिलास उखुको जुसको मूल्य ३० रुपियाँ रहेको छ। जुस व्यवसायीहरूले दैनिक रूपमा करिब १,५०० देखि २,००० रुपियाँसम्म आम्दानी गर्ने गरेका छन्।

उखुको जुस स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ। पेटको गर्मी घटाउने, जन्डिस, कलेजोसम्बन्धी समस्या तथा पिसाब पोल्ने समस्यामा राहत मिल्ने जनविश्वासका कारण यसको माग बर्सेनि बढ्दै गएको छ।

गौशालाका स्थानीय व्यवसायी निरञ्जन साहका अनुसार गर्मीयाममा आफू नियमित रूपमा उखुको जुस सेवन गर्ने गर्नुहुन्छ। “गर्मी बढेसँगै जुस पिउनु शरीरका लागि फाइदाजनक हुन्छ,” उहाँले भन्नुभयो।

यस वर्ष तराई क्षेत्रमा तापक्रम उल्लेख्य रूपमा बढेको छ। चैतको दोस्रो सातातिर औसत २४ डिग्री सेल्सियस रहेको तापक्रम अहिले वैशाखको पहिलो साता मै बढेर करिब ४.४ डिग्रीले बढेर २७.४ डिग्री सेल्सियस पुगेको छ। महोत्तरीको गौशाला, बर्दिवास लगायतका क्षेत्रमा गर्मीको प्रभाव स्पष्ट रूपमा देखिएको छ।

यद्यपि, सडक छेउमा खुला स्थानमा बसेर व्यापार गर्नुपर्ने भएकाले यस्ता व्यवसायीहरूले धूलो र चर्को घामको समस्या झेल्नुपरेको छ। घरभाडा तिर्नु नपर्ने भएकाले आम्दानी सन्तोषजनक भए पनि काम गर्ने वातावरण भने सहज नभएको जुस व्यसायीहरू बताउँछन् ।