• ६ वैशाख २०८३, आइतबार

बजेट र योजनाको तालमेलबाट विकास निर्माण गर्छौ : मन्त्री नेपाली

blog

बधाइ तथा शुभकामना कार्यक्रममा बोल्नुहुँदै भौतिक पूर्वाधार विकासमन्त्री गोविन्दबहादुर नेपाली । तस्बिर :रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ,वैशाख ६ गते । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले विकास बजेट र योजनाको तालमेल मिलाएर समानुपातिक रूपमा विकास निर्माण गरिने बताउनुभएको छ । 

नेकपा एमाले जिल्ला कमिटी बागलुङले आइतबार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री नेपालीले आम नागरिकले सेवा पाउने खालका योजनामा लगानी गरी समयमै काम सक्ने वातावरण बनाउने बताउनुभयो । 

आम नागरिकको हितमा हुने योजना छनाेटमा ध्यान दिन नेपालीले कार्यकर्तालाई आग्रह गर्नुभयो । नेपालीले राम्रा योजना छान्दा जनताले पनि पत्याउने र वास्तविक आवश्यकतामा पुगिने भन्दै व्यक्तिगत योजना छनाेट नगर्न आग्रह गर्नुभयो ।

 ‘‘राम्रा र अत्यावश्यक योजना छानौँ जुन नागरिकले पनि विश्वास गर्न सकुन्’’ नेपालीले भन्नुभयो, ‘‘मन्त्रालयको बजेटको सीमा र आवश्यकतालाई प्राथमिकता दिने काम गर्छु ।’’ 

विकास बजेट घटिरहेकोले कैयौँ योजना अलपत्र परेका उहाँको भनाइ छ।  ‘‘अलपत्र योजनाको वास्तविकता बुझ्न विकासे अड्डाका प्रमुखको साझा बैठक बसेर अहिलेसम्म भएको बजेट, खर्च भएको बजेट र गर्न बाँकी कामको समीक्षा गर्छौ’’ नेपालीले भन्नुभयो ।  

मन्त्री भएपछि नेपाली पहिलोपटक बागलुङ आउनुभएको हो । पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटमा जन्मे पनि नेपाली हाल बागलुङ निवासी हुनुहुन्छ । 

बागलुङ नगरपालिका–१ निवासी नेपाली धौलागिरि बहुमुखी क्याम्पसको पूर्व स्ववियु सभापति, एमाले जिल्ला सचिव, केन्द्रीय सदस्य, दलित आयोगको सदस्य लगायतका काममा सक्रिय हुनुहुन्थ्यो । नेपाली खरो स्वभावका नेता पनि मानिनुहुन्छ । 

आन्दोलनको क्रममा उहाँ पटक पटक प्रहरी हिरासतमा पनि पर्नुभएको थियो । उहाँविरुद्ध केही राजनीतिक प्रकृतिका मुद्दा पनि लागेका थिए ।दलित अभियानकर्मीको रूपमा पनि नेपाली सक्रिय हुनुहुन्छ ।