काठमाडौँ, वैशाख ६ गते । नेपाल हक्की सङ्घले भारतमा हुने सिनियर महिला हक्की प्रतियोगितामा भाग लिने नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ गरिएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव राम चरित्र मेहतालेले शुभकामना सहित आइतबार बिदाइ गर्नुभयो । उहाँले खेलाडीलाई आफ्नो क्षमता देखाएर उत्कृष्ट प्रदर्शन गर्न सल्लाह पनि दिनुभयो ।
नेपाल हक्की सङ्घको महासचिव सुवर्ण श्रेष्ठले ३१ वर्षपछि नेपालको महिला हक्की टोली विदेशमा खेल्न र प्रशिक्षणका लागि जान लागेको बताउनुभयो ।
यस प्रतियोगिता नेपाली हक्की खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुवभ बटुल्ने मौका रहेको पनि श्रेष्ठले बताउनुभयो । नेपाली टोलीले भारतका एक साता प्रशिक्षण गरेर प्रतियोगिता खेल्नेछ ।
सङ्घले अंकिता अधिकारीको कप्तानीमा यसअघि नै २६ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । टोलीको मुख्य प्रशिक्षकमा अश्विनी कुमार अधिकारी, सहायक प्रशिक्षकमा रविन्द्र सिंह तथा ब्यवस्थापकमा कान्तुराम पनेरु रहनुभएको छ ।
खेलाडी बिदाइ कार्यक्रममाअध्यक्ष अनिलप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो । नेपाली टोली आइतबार नै भारत प्रस्थान गर्नेछ ।
महिला हक्की टोली
महिला टिमकी कप्तानमा अंकिता अधिकारी हुनुहुन्छ । यस्तै गोलकिपरमा संजुमगर, खुश्वु रान र मधुकुमारी हुनुहुन्छ । फरवार्डमा प्रनिता पुडासैनी, आशीका मण्डल, नमिता एस के, बन्दना भट्ट, अन्जली कर्माकर, बविता उराव र मुस्कान राना हुनुहुन्छ ।
मिडफिल्डमा सितामाया बल, अंकिता मुखिया, गिता पुनमगर, करुणा ठगुन्ना, नीरुता गिरी, सविता राजवंशी, लक्ष्मनिया कुमारी दास, पूर्णीमा नेगी र सपना स्याङवो रहनुभएको छ ।
यस्तै डिफेन्समा सोनु वराल, संजिता श्रेष्ठ,विमु नेपाली, संजु चौधरी, सर्मिला कुमारी र कृति पुलामी छनोट हुनुभएको छ ।