• ५ वैशाख २०८३, शनिबार

दुई सवारी दुर्घटना, भारतीय नागरिकसहित नौ घाइते

blog

हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको भीमफेदी–६, जुरिखेतस्थित सडकखण्डमा दुर्घटनाग्रस्त सवारी साधन ।

राममणि दाहाल

मकवानपुर, वैशाख ५ गते । हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कार्पियो र सुमो दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन् ।

शनिबार साँझ १८:१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना.३च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट आउँदै गरेको बिआर २२ ए जेड २५१७ नम्बरको भारतीय स्कार्पियोले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा दुवै सवारी साधन सडकमा पल्टिएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार दुवै सवारीमा सवार घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा सुमोका चालक वीरगन्ज महानगरपालिका–१४ का ४८ वर्षीय महबुब आलम मन्सुरी र सुमोमा सवार हेटौँडा उपमहानगरपालिका–५, शान्तिनगरका ४१ वर्षीय न्युटनबहादुर क्षेत्री घाइते हुनुभएको छ । सुमोमा सवार अन्य दुई जनाको अवस्था सामान्य रहेकाले उहाँहरू गन्तव्यतर्फ लाग्नुभएको प्रहरीले जनाएको छ ।

यस्तै, भारतीय स्कार्पियोका चालक भारत बेतियाका २६ वर्षीय सरुप पटेलसहित ३२ वर्षीय गौरवकुमार सराफ, २६ वर्षीय रिसबकुमार सराफ, ३५ वर्षीया रेश्मीदेवी सराफ, ६५ वर्षीया शिलादेवी सराफ, ११ वर्षीय रबिकुमार सराफ र १५ वर्षीया नन्दनी कुमारी सराफ घाइते हुनुभएको छ ।

घटनास्थलमा प्रहरी टोली खटिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।