जयकृष्ण यादव
इनरुवा, वैशाख ५ गते । सुनसरीको इनरुवामा तेस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । डा. वसन्त स्मृति योग समिति इनरुवा–२ को आयोजनामा सुरु भएको सो तीन दिने प्रतियोगिताको नेकपा (एमाले) का उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य गुरु बरालले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उपाध्यक्ष बरालले कुस्ती खेलले सुनसरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले यस्ता खेलकुद गतिविधिले खेलाडीको शारीरिक र मानसिक स्वास्थ्यका साथै आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
आयोजक समितिका संरक्षक चिनेश्वर मेहताका अनुसार प्रतियोगिताको पहिलो दिन १० टिमका २० जना पुरुष र दुई टिमका चार जना महिला खेलाडीबीच प्रतिस्पर्धा भएको छ । कुस्तीका माध्यमबाट इनरुवा र सुनसरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको मेहताले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाल, भुटान, श्रीलङ्का, दक्षिण अफ्रिका र भारतका गरी ४४ भन्दा बढी पुरुष र १० जना महिला कुस्ती खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा भारतका प्रख्यात खेलाडीहरू जाबेद गनी (काश्मीर), हरिओम बाबा (बनारस), लाडी बाबा (हरिद्वार) र बाहुबली पञ्जाब टिमका साथै नेपालका चर्चित खेलाडीहरू पारस थापा, वसन्त थापा, सन्दीप राना, मेवा थापा लगायतले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता वैशाख ७ गते सोमबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।