रामकृष्ण बोहरा
बागलुङ, बैशाख ५ गते । सदरमकाुम बागलुङ बजारलाई सौन्दर्यकरण गर्ने अभियानअन्तर्गत अव्यवस्थित इन्टरनेट र केवल टिभीको तार र विद्युतका पोल हटाउन थालिएको छ ।
निवर्तमान नगरप्रमुख जनकराज पौडेलको कार्यकालमा सुरु भएको कार्यक्रमलाई वर्तमान नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पनि निरन्तरता दिंदै बजार नै कुरुप बनाउने गरी अव्यवस्थित रुपमा रहेका तार, ध्वजापतका, होर्डिङ बोर्ड र पोल हटाउन थालिएको हो ।
नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमको सहकार्य तथा ट्राफिक प्रहरी कार्यालय बागलुङको सहयोगमा बागलुङ बजारको सौन्दर्यकरण तथा सवारी आवत–जावतमा सहजताका लागि अव्यवस्थित तार र विद्युतका पोल हटाउने अभियानलाई तिव्रता दिएको वातावरण उपशाखाका प्रमुख हरिनारायण उपाध्यायले जानकारी दिनुभयो ।
‘‘विद्युत, टेलिकम, केवल टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिले अनुगमन गरेर चिन्ह लगाएका पोल र तार हटाउन थालेका छौं’’ उपाध्यायले भन्नुभयो ।
अभियानअन्तर्गत बजार क्षेत्रमा ४० वटा विद्युतका पोल हटाइसकिएको छ । दुई पोल भएको ठाउँमा तार व्यवस्थित गरी अनावश्यक पोल हटाइएको उपाध्यायले बताउनुभयो ।
ऐतिहासिक पार्कदेखि हल्लनचोक, जिपपार्क, अस्पतालरोड, बालमन्दिरदेखि लालीगुराँस चोक र गोदामघर क्षेत्रमा तार व्यवस्थापन गर्नुका साथै पोल हटाउने काम भएको छ । बजारलाई सुन्दर बनाउन पोलको तीन मिटरसम्म चार थरिका रङ पोत्ने काम पनि गरिनेछ । ‘‘अनावश्यक पोल हटाउने र आवश्यक परेको ठाउँमा विद्युत प्राधिकरणसँग सहकार्य गरी व्यवस्थापन गर्ने काम हुँदैछ’’ उपाध्यायले भन्नुभयो ।
नगरपालिकाले शनिबार र आइतबार बिदाको दिन पारेर तार र पोल व्यवस्थापन गर्ने काममा कर्मचारीलाई खटाएको छ । अव्यवस्थित पोल र तार हटाएपछि बजार छिर्ने यातायातका साधनलाई सहज भएको उपाध्यायले बताउनुभयो ।
यसअघि टेलिकम, विद्युत प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीलाई अव्यवस्थित तार र पोल हटाउन निर्देशन दिए पनि पटक–पटक अवज्ञा भएको भन्दै नगरपालिकाले तार र पोल हटाउने अभियान सुरु गरेको थियो । विद्युत प्राधिकरणले बागलुङ बजारमा नयाँ विद्युतका पोल राखेर विद्युतलाई नाङ्गो तारमुक्त गरेको छ ।
बागलुङ बजार सौन्दर्यकरणअन्तर्गत सडकमा फुटपात निर्माण गरिएको छ । ऐतिहासिक पार्कलाई व्यवस्थित बनाइएको छ । सडक पेटीबाट सामान हटाइएपछि मुख्य बजारक्षेत्र चिटिक्क देखिएको छ । सडकमा डिमार्केसन र भित्री सडक चौडा बनाइएको छ ।